एसपी रिपोर्टर
जनकपुरधाम, साउन ६ : आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व हिन्दु धर्माबलम्बीहरुले मनाउँदै छन् ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिमा ठूलो योगदान पुर्याएको मानिन्छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने हिन्दु धर्मममा परम्परा रहेको छ । गुरुको सम्पर्कमा आएपछि मात्रै ज्ञान रुपी प्रकाश प्रत्येक व्यक्तिमा अंकुरित हुने भएकाले प्रत्येक व्यक्तिका लागि गुरुको कृपा आवश्यक रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।
गुरुको कृपा बिना भव सागर पार गर्न असम्भव रहेकाले गुरुको भक्ति गर्नु सबैभन्दा ठूलो धर्म मानव जीवनमा रहेको अर्का एक स्थानीयले बताए ।
पहिले प्रत्येक विद्यालयमा गुरु पूर्णिमाका दिन भव्यताका साथ मनाइने यो पर्व अचेल आएर मठ मन्दिरमै सीमित भएको छ । यसको मूल कारण गुरु शिष्य परम्पराको अन्त्य हुनु रहेको धार्मिक गुरुहरु बताउँछन् । पहिले शनिवारका दिन गुरुलाई शनिचरी दिएर गुरु दक्षिणा दिएर सम्मान प्रकट गरिन्थ्यो तर त्यो परम्पराको अन्त्य संगै विद्यार्थीहरुमा गुरुप्रतिको श्रद्धा हराउँदै गएकोमा उनीहरु चिन्ता व्यक्त गर्छन् ।