एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ :
मधेश प्रदेशका जिल्लाहरुमा एचआईभिबाट प्रभावित भएका ४ हजार २ सय ८७ जनाले नियमित रुपमा औषधि सेवन गरेर उपचार गराउँदै आईरहेको तथ्यांक एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
प्रादेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले प्रदेशभरिका प्रयोशालाकर्मीहरुका लागि आयोजना गरेको तीन दिने प्रशिक्षणको समापन कार्यक्रममा एचआईभि एड्सवाट संक्रमित हुनेहरुको संख्या उपचार गराई रहेको भन्दा अधिक रहेकाले संक्रमितबाट थप संक्रमण फैलिन नदिनका लागि प्रयोशालाको परीक्षणको महत्वपूर्ण भूमिका हुने जानकारी विज्ञहरुले दिएका छन् ।
मधेश प्रदेश सरकारले मधेशका १३६ पालिकामा नै प्रयोगशाला स्थापना गरेर विभिन्न सर्ने तथा नसर्ने रोगहरुको नियमित रुपमा परीक्षण गर्ने काम गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं बरिष्ठ भाईरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिए ।
उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको महत्वपूर्ण भूमिका रह्ने बताउँदै प्रदेश भरिमा स्थापना भएको प्रयोशालाहरुले दीर्घ रोगहरुको पहिचान तथा नियन्त्रणमा काम गरेर प्रदेशवासीलाई स्वस्थ्य राख्ने अभियनमा लागेको बताए ।
मधेश प्रदेशका स्वास्थ्य आपूर्ती केन्द्रका निर्देशक डा. मनिष कुमार पाण्डेले रोगको पहिचान तथा नियन्त्रणमा प्रयोगशालाको महत्वपूर्ण भूमिका भएको बताउदै मधेश प्रदेशबासीलाई स्वस्थ्य बनाउनमा प्रयोगशालाको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक सन्तोष कुमार यादव, यूनिसेफका चन्द्र नारायण साह , गुणानन्द प्रसाद साह र सहभागी प्रशिक्षार्थीहरुले बोलेका थिए ।
