एसपी रिपोर्टर
बुटवल, बैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले शपथ लिएका छन् । पोखरेलका निजी सचिव तिरण गौतमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । कांग्रेस माओवादीलगायत विपक्षी दलहरुको अवरोधका बीच उनले शपथ लिएका हुन् । पोखरेलले शपथ लिएसँगै चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।
गौतमका अनुसार बैजनाथ चौधरीले पुनः आर्थिक मामिला तथा योजना, हरि रिजालले स्वास्थ्य तथा जनसंख्या, सन्तोष पाण्डेयले भौतिक पूर्वाधार विकास र विजय बहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा शपथ लिएका छन् ।

प्रदेश प्रमुखकै कार्यकक्षमा सपथ ग्रहणको कार्यक्रम रहेपनि विपक्षीहरुले धर्ना दिएकाले सम्भव नभएपछि मुख्यमन्त्रीकै कार्यकक्षमा सपथ ग्रहण भएको छ । सपथ ग्रह्णका लागि प्रदेश प्रमुख धर्मनाथ यादव वाहिर निस्कने क्रममा विपक्षी सांसदहरु अवरोध गर्न थालेपछि प्रह्रीले बल प्रयोग गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाको सुरक्षा घेरामा प्रदेश प्रमुख वाहिर निस्केर कडा सुरक्षाका बिच सपथ ग्रहण गराएका छन् ।





