पुरन रौनियार
जनकपुरधाम, बैशाख १० :
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल बिच मेरियट होटलमा भएको छलफलमा आखिरकार भयो के त ? भन्ने विषय आमजनताको जिज्ञासाको विषय हो । मेरियटको छलफल पछि पार्टीका नेताहरुको घरायसी कार्यक्रम तथा भोजभतेरमा सहभागि हुन विहिवार सिधै जनकपुरधाम आएका वरिष्ठ नेता नेपाल शुक्रवार जनकपुरधाम स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि ओलीसंगको छलफल र पार्टीको फेरिहस्त यसरी सुनाए

‘पहिलो दिनको छलफल त अलिक सन्तोषजनक नै थियो तर दोस्रो दिनको छलफलमा तपाँईलाई छ महिनाको लागि गर्न लागेको निलम्वनको कारवाही बारे सोच्न सकिन्छ भनेर भनेपछि ओलीको दम्भ र अहंकार धरहरा जस्तै पाएको छु’ यो भनाई एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको हो ।

पत्रकार सम्मेलनमा करिव ४० मिनेट बोलेका नेपालले अगाडि भने, ‘धेरै कोशिस गर्यौ, तर बालुवाटारको बालुवावाट तेल निस्कने छाँटकाट देखिएन अव पार्टीको ६० प्रतिशत साथीहरुका साथ पार्टी एकता र हितको अभियान अगाडि बढाइन्छ ।’ नेता नेपालले भने, ‘ आज बामदेव कमरेडले विहानै मलाई फोन गर्नुभयो र भन्नुभयो, ‘कमरेड उहाँ (ओली कमरेड)ले डिनरमा बोलाउन त बोलाउनु भयो तर दम्भ र अंहकारको शैली त उस्तै, अलिकती पनि फरक नदेखेपछि म त डिनर छा्डेर हिनेको ।’

अव बामदेव कमरेडको कन्फुयजन समेत दुर भएको र एक भएर ओली विरुद्व जान तयार भएको वरिष्ठ नेता नेपालको दावी छ । पहिलो दिनको छलफलमा आफुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैमा समर्थन गर्ने खाली पार्टीलाई विधि विधान संवत चलाइदिने विषयमा सकारात्मक कुराकानी भएको उनको भनाई छ ।

‘मन चँगा त कठौतीमे गंगा’

नेपालले भने, ‘ओली जीले मलाई मैले अग्ला धरहरा बनाएको भन्दै गर्वका साथ देखाए तर माधव नेपालले अर्जेको, बनाएको पार्टीको चिन्ता उनमा कदापि देखिएन ।’ मलाई पटक पटक बालुवाटार र बालकोटमा बोलाए पनि आफु नगएको उनको तर्क छ । वरिष्ठ नेता नेपालले थपे, ‘बालुवाटार र उहाँको निवास बालकोट छलफलमा गएको भए माधव नेपाल रुदै आयो र मलाई माफ गर्नोस भनेर बिलौना गरेर गयो भनेर हल्ला फैलाउथ्यो ।’ मन मिलेपो घर जाने हो भन्दै उनले मैथिलीको एउटा उखान थपे, ‘मन चँगा त कठौतीमे गंगा’ अर्थात मन खुसी भए बटुकाको पानी पनि गंगा सरह नै लाग्छ ।

अन्तत वरिष्ठ नेता नेपालको कुरा सुन्दा ओली र नेपालको मिलन असम्भव जस्तै छ । अव तपाँइ के गर्ने कारवाही भोग्न वाटो पर्खिने कि विद्रोह गर्ने ? पत्रकारहरुको सवालमा उनले माधव नेपाललाई एमालेवाट हटाउने हिम्मत कसैसंग नरहेको बताए । उनले पार्टीमा ६० प्रतिशत नेता आफुहरुको अभियानको पक्षमा रहेको बताउदै पार्टीको जन्म दिएको माधव नेपाललाई हटाउने सपना नदेख्न आग्रह गरे । अनि ओलीलाई हटाउने त ? भन्ने प्रश्नमा उनले भने, ‘हामि कसैलाई हटाउने होइन ओलीलाई सुधार्ने हो ।’ पार्टीको ६० प्रतिशत र अन्य बामपन्थी शक्तिसंग सहकार्य गरि ओली प्रवृती विरुद्व अवको लडाई हुने उनको भनाई छ ।