एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ४ :
प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघिय सरकार उदारवादी हुन नसक्दा जनतामा अहिलेको व्यवस्था प्रति वितृष्णा जाग्न थालेको बताएका छन् । धनुषाको सवैलामा मेका इन्जिनियरिङ्ग समाजको साधारणसभालाई समुदघाटन गर्दै मन्त्री सोनलले भने, ‘संघिय सरकार ७० प्रतिशत बजेट आफनै खल्तीमा राख्ने तर जनताले अपेक्षा र भरोसा स्थानिय र प्रदेश सरकारसंग गर्ने भएकाले समस्या छ ।’

जनताको न्युनतम मांगहरु सडक, विद्यालय, मठमन्दिर जस्ता विकास निर्माणको आपुर्तीमै अहिले समय व्यतित भइरहेको बताउदै मन्त्री सोनलले भने, ‘नितिगत सुधार र संरचना तिर त ध्याननै केन्द्रित गर्न सकेका छैनौं ।’ जनताको आकांक्षा स्थानिय र प्रदेश सरकारसंग रहेकाले यो दुईवटा सरकारको समस्या र चुनौती बुझेर यस सरकारहरुलाई बलियो बनाउने काम पनि जनताले नै गर्नुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, किशोरी साह कमल, सवैलाका नगर प्रमुख विजय शंकर साह, जसपा नेपालका धनुषा अध्यक्ष सञ्जय सिंह, प्रेस मञ्च नेपाल प्रदेश २ का अध्यक्ष सुरेश यादव, उद्योग बाणिज्य संघ सवैलाका अध्यक्ष रामचन्द्र जयसवाल सहितकाले सवैलामा करिव तिन सयको सहभागितामा इन्जिनियरहरुको संगठन हुनु यस क्षेत्रकै लागि गौरवको विषय भएको भन्दै आफनो समाज र क्षेत्रको विकासमा हातेमालो गर्न प्राविधिकहरुलाई आग्रह गरेका छन् ।

समाज सवैलाको अध्यक्षमा जयसवाल सर्वसम्मत

एता साधारणसभाले मेका इन्जिनियरिङ्ग समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जयसवाल कन्ष्ट्रक्सन तथा कन्सलटेन्सीका सञ्चालक ई. राकेश जयसवालको अध्यक्षतामा १९ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कमार पुर्वे, उपाध्यक्षहरुमा राजेश कुमार महतो र रंजित कुँवर, सचिवमा सत्रुधन साह, सह–सचिवमा रोशन यादव, कोषाध्यक्षमा विरेन्द्र महतो सहितका रहेका छन् ।

मन्त्री सोनललाई रघुनाथपुरमा स्वागत


त्यस अघि सवैलाकै रघुनाथपुर पुगेका मन्त्री सोनललाई भव्य स्वागत गरिएको थियो । रघुनाथपुरका जसपाका युवा नेता तथा मधेश आन्दोलनका घाइते राजकुमार साह राजुले स्वागत गरेका थिए । उनको नेतृत्वमा स्थानिय जसपाका नेताहरुले मन्त्री सोनल सहित प्रदेश सांसद साह सहितको टोलीलाई रघुनाथपुरमा स्वागत गरेको थियो ।