एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १० :
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भएमा देशमा फोहोरी राजनीतिक खेलहरु सुरु हुने खतरा औल्याएका छन् । उनले सांसद किनबेच हुन थाल्ने भन्दै देशलाई संकटबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्प नभएको समेत बताए ।

‘संसद पुनःस्थापना भएमा नयाँ प्रधानमन्त्री खोज्नुपर्छ । त्यस्तो अवस्थामा सांसद किनबेच सुरु हुन्छ,’ आज कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले भने, ‘फोहोरी खेल सुरु हुन दिनहुँदैन ।’ देशमा सत्ताका लागि फोहोरी खेल खेल्न खोजिएपछि ताजा जनादेशमा जानुपरेको उनले बताए । प्रधानमन्त्री ओलीको यस अभिव्यक्तीले पनि उनमा संसद पुर्नस्थापना र नयाँ सत्ता समिकरणको तनाव रहेको स्पष्ट हुन्छ ।

ओलीले संसद पुनःस्थापना नभए आन्दोलन गर्छु भनी धम्की नदिएको बताए । अदालतलाई धम्की दिने बानी नभएको बताउँदै भने, ‘अदालतलाई धम्की दिने बानी छैन ।’ उनले अदालतप्रति विश्वास रहेको र न्याय सम्मत निर्णय आउनेमा विश्वस्त रहेको बताए । यसअघि प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नभए आन्दोलनको चेतावनी दिएको विषय बाहिर आएको थियो ।