एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : नेताहरु नेपालको वर्तमान संविधान पनि धरापमा पर्न सक्ने खतरा औंल्याउन थालेका छन् । नेपालको इतिहाँसमा पहिलो पटक सार्वभौम सम्पन्न जनताले बनाएको संविधानसभाबाट बनेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ पनि खतरामा पर्ने कुराले जनतामा निराशा छाएको छ ।
वर्तमान संविधानमा असुन्तष्टि रहेपनि संविधान परिवर्तनशिल दस्तावेज रहेको कुरा नेताहरुले भनिरहँदा आफना कुराहरु पनि विस्तारै समेटिने आशामा रहेका तराई मधेशका जनता पनि संविधाननै धरापमा रहेको सुन्दा खुसी भने छैनन् ।

वर्तमान संविधान जारी गरेका देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि संघियता मात्र नभई संविधाननै धरापमा पर्न सक्ने खतरा औंल्याएका छन् । डा. यादवले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र संकटमा परेको जिकिर गरेका छन् । शुक्रवार नेपाली काँग्रेसका नेता डा.शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बीपी कोइराला तथा बीपी विचार संग्रह पुस्तकहरुको विमोचन समारोहलाई सम्बोधन गर्दै डा.यादवले लोकतन्त्र, संघियता र संविधान उपर नै ग्रहण लागिसकेको बताए ।
उनले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा स्वयम संविधानकी रक्षक राष्ट्रपतिले पनि साक्षी बस्नु गलत रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाए । डा.यादवले संविधान जारी गर्ने बखतमा आफूले तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेपनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको जिकिर समेत गरे ।

कांग्रेसका मध्यमार्गी नेता डा. कोइरालाको पनि उस्तै तर्क
सोहि कार्यक्रम तथा आज मात्र जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा समेत कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्रीको कदम लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताए । उनले भने, ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानूनी आधार खुलाउनु पर्छ, र यदि तरपनि चुनाव हुन सकेन भने संविधान नै धरापमा पर्छ ।’

चुनाव नै हुन नसके संविधानलाई कसरी बचाउने ? उनको प्रश्न थियो । उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्रीको कदम विरुद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढनुपर्ने आवश्यकता रहेको बताए । डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद पुनस्र्थापना रहेको जिकिर गरे । संसद पुनस्र्थापनाका लागि पुनः एक पटक आन्दोलन गर्ने बेला आइसकेको कोइरालाको भनाई थियो ।





