एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ :
जनता समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघियता र संविधान खतरामा रहेको बताएका छन् । नेता भण्डारीले प्रधानमन्त्री ओली स्वयंम संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

श्री रामजानकी युवा कमिटीद्वारा निर्मित श्री गणेश मन्दिरको ११ औं वार्षिकोत्सव एवम् नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले प्रतिनिधिसभा विघटन गरेर ओलीले नेपाली जनताको भावना संग समेत खेलवाड गरेको आरोप लगाएका छन् ।

पूर्व रक्षा मन्त्री समेत रहेका जसपा नेता भण्डारीले अधिकार प्राप्तीको आन्दोलनमा शहिद भएकाहरुको सहादतको लक्ष्य अहिलेसम्म प्राप्त हुन नसकेको स्मरण गराउँदै युवाहरुले अझै ईमान्दार भएर अगाडी बढ्नुको विकल्प नरहेको बताए । उनले भने ‘प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न युवाहरु अध्ययनशिल हुन आवश्यक छ ।’

मुलुकमा संघीयता आएपनि मधेशी जनताले सम्पुर्ण रुपमा अधिकार प्राप्त गर्न नसकेकोले अझै त्सका लागि सशक्त आन्दोलनको आवश्यक्ता रहेको उनले बताए । अहिलेको प्रतिगमनले सबै सखाप पार्ने तर्फ समेत उनले चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई प्रदेश सांसद परमेश्वर साह, सुरिता साह, जयनुल राइन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितकाले सम्बोधन गरेका थिए ।