एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ :
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले विभिन्न राजनीतिक दलका नेताहरुलाई विभिन्न सर्पको संज्ञा दिदै सिरहाको लहानमा बलिदानी दिवस मनाएको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमै मधेश आन्दोलनकारी युवा रमेश महतोको हत्या पछि आन्दोलनले गती लिएकाले माघ ५ का दिन मधेश केन्द्रित दलहरु लहानलाई प्राथमिकतमा राखि कार्यक्रम गर्दै आएको छ ।

केहि वर्ष अगाडि माघ ५ कै दिन विशाल सभाको आयोजना गरि चर्चामा आएका डा. राउत आज जनमत पार्टी नेपाल र त्यसको अध्यक्षको रुपमा पुनः विशाल सभा गरि बलिदानी दिवसका दिन मधेशी नेताहरु सहित नेपालका विभिन्न दल र नेताहरुलाई सर्पको विभिन्न जातको रुपमा व्याख्या गरेका छन् ।

कृतिम सर्प समेत लिएर भाषण गरेका डा. राउतले मधेशीहरुकै दुध खाएर नेपालको दल र नेताहरु मधेशीहरुलाई नै डँसेको आरोप लगाएका छन् । डा.राउतले नेपाली कांग्रेस, नेकपा र जसपा लगायतका पार्टीका नेताहरुलाई विभिन्न सर्पको संज्ञा दिएका छन् । मधेशी जनताले अहिले सम्म सर्पलाई दुध पिलाइरहेको भन्दै उनले आफ्नो भाषणमा सर्पसँग नेताहरुको तुलना गरेका हुन् ।

उनले भने ‘मधेशीसँग लभ परेको भन्दै प्रचण्डले मधेशीलाई आफुसँग सुत्न भन्छन् र राति डँस्ने गरेका छन् ।’ डा.राउतले भने, ‘काठमाडौंमा रहेका केही अजगर साँप पनि छन् जो काठमाडौंमा बसेर मधेशी शहीदको विक्री गर्छन् । उनीहरु कुर्सीमा बसेर ठेक्कापट्टा गर्छन ।’ गजेन्द्र बाबु (गजेन्द्र नारायण सिंह)ले आफ्नो हातमा लिएर केही व्यक्तिलाई नेता बनाएको तर उस्ले आज सदभावनालाई समाप्त पारेको बताउदै डा.राउतले उनीहरुलाई चुप्पा सर्पको संज्ञा दिएका छन् ।

‘पहाडमा हरियाली समाप्त भएपछि केहि हरिया लुगा लगाएकाहरु मधेश झरेको भन्दै जसपाका नेता डा.बाबुराम भट्टराईप्रति लक्षित गर्दै डा.राउतले भने ‘संविधान जारी गर्ने पनि उही, संविधानसभा विघटन गर्ने पनि उही, अव मधेशमा आएर पार्टी अध्यक्ष भएका छन् त्यो सुगवा साप धेरै खतरनाक हुन्छ ।’

मधेशी नेताहरुलाई डा. राउतले कालिया नाग भने

‘शहिद राम मनोहर यादवहरुलाई हत्या गराउनेलाई कालिया नाग भन्दै उनले नागभन्दा पनि खतरनाक रहेको बताए । उनले भने, ‘विषालु सर्प एक पटक टोक्छ तर कालिया नाग बारम्बार डँस्ने काम गर्छ, बारम्बार मन्त्री भएर उनीहरुले मधेशीलाई डँस्ने काम गरे, अव मधेशीको बच्चालाई पनि डँस्नेछन, त्यसकारण यिनीहरुलाई नचाएर फालौं ।’

मधेशीहरुले अधिकार माग्न खोज्दा नेपाली कांग्रेसले मधेशीहरुको हत्या गराएको र त्यसपछि सुर्यछाप (नेकपा)करण भएको बताए । नेकपाका नेताहरुले मधेशीको अपमान गरेको र आँपको संज्ञा दिएको भन्दै केपी शर्मा ओलीको समेत आलोचना डा.राउतले गरे ।