एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : पर्यावरण संरक्षण अभियन्ता धनुषाका ओमप्रकाश भनेर चिनिने दिलीप महतोको हत्या भएको आज एक वर्ष पूरा भएको छ । २०७६ साल पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर २४ वर्षीय दिलिपको हत्या गरिएको थियो ।
यस हत्या विरुद्ध युथ एसोसिएसन अफ नेपाल (यान)ले विभिन्न माग राखी गत वर्ष देखी नै कार्यक्रमहरु गर्दै आएको छ । गत वर्ष श्रद्धाञ्जली कार्यक्रमबाट सुरुवात गर्दै यानले विरोध कार्यक्रम, जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने देखि लिएर राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय समेतमा ज्ञापन पत्र बुझाएको थियो । त्यस पछि पनि यानले उक्त घटना केलाउदै विरोध कार्यक्रमहरु गर्दै आएको थियो । यसै क्रममा आज महतोको पुण्यतिथिमा यानले काठमाडौं र जनकपुरमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रमको आयोजना गरेको छ ।

आज बेलुका पाँच बजे यानको आयोजनामा जनकपुरधाम स्थित जानकी मन्दिरको प्रांगणमा दिप प्रज्वलन गरि स्व. महतो प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । यान धनुषा जिल्ला सदस्य बलराम गुप्ताको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा करिब चालीस जना युवाको उपस्थिति रहेको थियो ।
उक्त विरोध प्रदर्शनमा दिलिप महतोको आत्माको शान्तीको लागी एक मिनेट मौन धारण गर्दै दिलिप महतो लाई एक वर्ष पुग्दा पनि न्याय पाउन नसकेको भन्दै युवाहरुले दुःख व्यक्त गरे । “दिलिप महतो लाई छिटै न्याय देऊ, दिलिप महतो लाई पहिलो पर्यावरण शहिद धोषणा गर, नदीनालामा अवैध उत्खनन बन्द गर, दोषी लाई सजाय देऊ“ भनि प्लेकार्ड बोकेर युवाहरु बिरोध प्रदर्शन गरेका थिए ।

यता आज बेलुका पाँच बजे नै युथ एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौं माइतीघरमा पनि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम भएको छ । महोत्तरी युथ नेटवर्क सँगको सहकार्यमा भएको कार्यक्रमको नेतृत्व यान केन्द्रिय सदस्य सिवा सिंहले गरेको थियो ।





