एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध जनकपुरधाममा पनि वृहत प्रदर्शन गरेको छ । शनिवार पुर्व निर्धारित कार्यक्रम अनुसार देशकै सवै निर्वाचन क्षेत्रहरुमा जस्तै जनकपुरधाममा समेत प्रदर्शन गरेको छ ।

संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । धनुषा निर्वाचन क्षेत्र नं. ३ को जनकपुरधाममा आयोजित नेता कार्यक्रताहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको आरोप लगाउदै ओली विरुद्व नारावाजी गरेका थिए ।

जनकपुरधामको पिडरिया माई थान स्थित पार्टी कार्यालयबाट निस्केको विरोध रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । रैलीमा सहभागीहरुले प्रतिनिधि सभा पुर्नस्थापित गर, प्रतिगमनकारी ओली मुर्दाबाद, लोकतान्त्रिक शक्ति जिन्दाबाद लगायतका नारा लगाएका थिए ।
नेता शिवचन्द्र रायको अध्यक्षतामा सम्पन्न सो कोण सभालाई केन्द्रिय सदस्य मिनाक्षी झा, क्षेत्रिय सभापति कन्हैया कर्ण, नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम, महिला संघका केन्द्रिय सदस्य निलमदेवी कर्ण, नगर अध्यक्ष मनोज साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रिय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ को (ख) मा केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङ्गाना, क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजा गोइत,२ को (ख) मा केन्द्रिय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभा सदस्य रामसरोज यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ को (ख) मा केन्द्रिय सदस्य मिनाक्षी झा एवं क्षेत्रिय सभापति कन्हैया लाल कर्ण र क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार बासुलाल महतो एवं ४ को (ख) मा केन्द्रिय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।





