एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ : संघिय सरकारका शहरी विकास मन्त्री प्रभु साहले जनकपुरधामको विकास नभए रौतहट र सर्लाहीको विकास समेत हुन सक्ने बताएका छन् । संघिय सरकार अन्र्तगतका आयोजनाहरुको कार्यान्वयनमा देखिएका समस्याहरुको समाधानका विषयमा सम्बन्धित सरोकारवालाहरु संगको वृहत छलफल कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री साहले जनकपुरधामको बसपार्क र सभाहल निर्माण मुख्य योजना हुने बताए ।
जनकपुरधाममा सुविधाजनक बसपार्क र करिव पाँच हजार क्षमताको सभाहल निर्माणका लागि सरकार जोड दिने तथा अन्य योजनाहरुलाई समेत ध्यानमा राखिने उनले बताए । स–साना योजना भन्दा पनि एक दुई महत्वकांक्षी योजना ल्याएर मधेश, देश र विश्वकै लागि आस्थाको केन्द्र जनकपुरधामलाई विकास गर्नुपर्ने उनको भनाई छ । वडा देखि केन्द्र सरकार सम्म सवैले पोखरी सौन्दर्यकरणको काम गरिरहेको भन्दै उनले यसो गर्न नहुने बताए । सवै तहको समन्वयमा विकास निर्माण हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल प्रहरीले प्रयोग गरिरहेको महेन्द्र नारायण निधी सांस्कृतीक केन्द्रको सभाहलकोे बारेमा धनुषाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिदै मन्त्री साहले भने, ‘या त त्यो हल फलानोले प्रयोग गर्ने भन्नु परयो नभए खाली गर्नु परयो, यसरी पेन्डुलम गरेर राख्न भएन के हो बुझेर लिखित ल्याउनोस ।’ जनकपुरधाम जनकपुरवासीको मात्र नभई सवैको रहेको भन्दै उनले आफु मन्त्री रहिरहे जनकपुरमा गन्न सक्ने काम गर्ने बताए । मन्त्री परिवर्तणका कारण काम गर्न समस्या भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव रमेश सिंह, प्रदेश सरकारका कर्मचारी, विभिन्न सरकारी निकायका कर्मचारी सहित प्रदेश २ का सर्लाही र महोतरीको स्थानिय तहका प्रमुखहरु, जिसस धनुषाका प्रमुख सहितको सहभागिता थियो ।





