एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् । सुरक्षित मातृत्व संजाल महासंघ नेपालको आयोजनामा भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ र प्रदेश जनस्वास्थ्य सेवा ऐन सम्बन्धमा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साहले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यले नै प्रदेशको आमा र बालबालबालिका मात्र नभई परिवार नै सुरक्षित हुने बताए ।
प्रदेश २ महिला, बालबालिका तथा समाजिक न्याय समितिका सभापति जयलुन राइन तथा प्रदेश सांसद परमेश्वर साहले पनि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यमा प्रदेश २ एकदमै पछाडि रहेकाले त्यसै अनुसारको ऐन आवयश्क रहेको र प्रदेश सरकार प्रतिवद्व रहेको बताए ।

महासंघ प्रदेश २ का अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि मन्त्री, सांसद, संसदिय समितिका सभापति सहित सदस्य सांसदहरु, प्रदेशको समाजिक विकास मन्त्रालयको विभिन्न विभागका पदाधिकारी सहितका सहभागिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि २०७५ ऐन कार्यान्वयन गरि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्रतिवद्व रहेको प्रतिवद्वता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा सरोकारवाला निकायहरुको प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।






