एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : नेपाली कांग्रेस धनुषाले जिल्लाको चारवटै निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटन संविधान विपरितको कदम रहेको भन्दै कांग्रेसको केन्द्रिय सर्कुलेशन अनुसार देशको कुल १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ विरोध प्रदर्शन र सभा गरिएको छ ।
त्यसै क्रममा धनुषाको क्षेत्र नं. ३ नगराईनमा समेत कांग्रेसले विरोध रयाली र कोणसभा गरेको छ । क्षेत्रीय सभापति कन्हैया कुमार कर्णको अध्यक्षतामा भएको विरोधसभामा बोल्दै प्रदेश २ को संसदीय दलका नेता राम सरोज यादवले केपि ओलीको सरकार विरुद्व एकजुट भएर अगाडि बढनु पर्ने बताए ।

दुई तिहाई पाएको सरकार केहि गर्छ कि भन्ने आशमा कांग्रेस हदै सम्म चुप भएर बसेको भन्दै उनले भने, ‘कांग्रेसको नेतृत्वमा घोषणा भएको संविधान विपरितको कदम सहनु ठिक होइन ।’ प्रदेश सांसद शिवशंकर चौधरीले ओलीलाई एक नम्वरको भ्रष्टाचारी, चोर र पापी सम्म भने । उनले भने, ‘जनताले बल्ल भरोसा गरेर दिएको दुई तिहाई कुकुरलाई घिउ नपचेको जस्तो कम्युनिष्टलाई भएछ ।’

विरोध रयाली नगराइनको विभिन्न क्षेत्रको परिक्रमा गरिसकेपछि छ लेनको मुख्य सडकमै गरिएको कोणसभामा प्रतिनिधीसभा सांसद स्मृती नारायण चौधरी, मिनाक्षी झा, जनकपुरधाम नगरसभापति मनोज कुमार साह सहितकाले सम्बोधन गरेका थिए । धनुषा क्षेत्र नं. ४ को विरोध कार्यक्रम क्षेत्रीय सभापति तथा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको नेतृत्वमा महेन्द्रनगरमा सम्पन्न भएको छ ।







