पुरन रौनियार
जनकपुरधाम, पुष १२ : तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपा अनौपचारिक फुटिसकेको छ । विभिन्न जिल्लाहरुमा ओली समुहले तत्कालिन एमालेको पार्टी कार्यालयहरु प्रयोग गर्न थालेका छन भने प्रचण्ड–नेपाल समुह तत्कालिन माओवादीको कार्यालय । प्रचण्ड–नेपाल समुह केन्द्रिय कार्यालयको रुपमा पनि अस्ती मात्र बल्खु स्थित तत्कालिन एमालेको कार्यालय निरिक्षण गरिसकेको छ ।
तर धनुषामा परिवेश फरक छ । धनुषामा केहि नेता वाहेक अधिकांश प्रचण्ड–नेपाल संगै छन् । रघुविर महासेठ, जुली महतो र योगनारायण यादव तथा राजकिशोर यादव वाहेक लगभग सवै नेताहरु त्यस समुहमा रहेकाले यहाँ ओली भन्दा इतरको समुह बलियो देखिन्छ । यसै कुरालाई सावित गर्न प्रचण्ड–नेपालका नेताहरु आज तत्कालिन एमालेको पार्टी कार्यालय मिथिला भवनमा भेला गरे र केपि ओलीलाई चुनौती दिएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेता रामचन्द्र झाले भने, ‘धनुषामा चल्न दिदैनौं, ओलीको दाँत तोडी दिन्छौं ।’ कम्युनिष्टको नाममा कतिले गोली र लाठी मात्र खाएको त कतिपयले सत्ता र भत्ताको नाँउमा चिल्लो मात्र ठुसेको उनको आक्रोस थियो । पार्टीलाई मान्दिन भन्न सक्नु भयानक अधिनायकावादको संकेत रहेको उनको कथन छ ।
हेर्नोस भिडियो
नेता तथा प्रदेश २ का सांसद समेत रहेका सत्रुधन महतोले गणतन्त्र आँउदा ओलीले बैलगाडामा अमेरिका पुगिदैन भनेको स्मरण गराउदै भने, ‘त्यति वेलै ओली गद्दार रहेको कुरा नेताहरु सोच्न र बुझन चुकेकै हुन ।’ नेता गणेश साहले ओलीले कु गरेको दावी गर्दै एकजुट भएर कम्युनिष्ट शक्ति त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

पुष १४ गते जनकपुरधाममा कम्युनिष्टको शक्ति प्रदर्शन हुने भन्दै साहले भने, ‘ढिलै भएपनि चिनियो अव परास्त गरेरै छोडनु पर्छ ।’ नेता श्री प्रसाद साहले पनि ओलीको विरोध गर्दै ओलीमा कम्युनिष्टको कुनै गुण नरहेको बताए । २०७१ साल असारमा भएको ९ औं महाधिवेशनमा ओली र नेपाल पक्षको प्रतिस्पर्धा र दुवैले प्राप्त गरेको मत स्मरण गराउदै भने, ‘तर ओलीले नेपालले कुनै मत नै नल्याएको जस्तो आफु मात्र सवै थोक जस्तो देखाउन थाल्यो ।’

भेलामा नेता रत्नेश्वर लाल गोइतले समेत ओली अधिनायकवादी भएको बताए । प्रतिनिधीसभा सांसद बोधमाया यादव, नेता एवं प्रदेश सांसद भरत साह, श्रवण यादव बरबरिया, यदुवंश झा, दिपक यादव, शितल झा सहितको सहभागिता रहेको भेला मंगलवार हुने देश व्यापी विरोध प्रदर्शनको आधार तयार गर्न आयोजना गरिएको बुझिएको छ ।
