एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : जनकपुरधाममा आगो लाग्दा उपमहानगरपालिकाको बारुणयन्त्र विग्रेको प्रति नेपाली कांग्रेस जनकपुरधामले विरोध जनाएको छ । कांग्रेस नगरसभापति मनोज कुमार साहले विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाको कार्यालय भन्दा दुई मिनेट मात्रको दुरीमा रहेको मिथिला डिपार्टमेन्टमा आगो लाग्दा पनि उपमहानगरपालिकाको स्रोत साधन काम लाग्न नसक्नु बिडम्बना रहेको बताएका छन् ।
आपतका बेला बारुण यन्त्र विग्रेको छ भन्नु गैरजिम्मेवारीको पराकाष्ठा हो, साहको विज्ञप्तीमा भनिएको छ, ‘आगलागीबाट हुन गएको क्षतीको अविलम्ब मुल्याङ्कन गरि उचित क्षतिपुर्ती उपलब्ध गराउनु पर्दछ ।’ व्यापारिक प्रतिस्ष्ठानमा आगो लाग्दा समेत स्रोत साधन विहिन देखाउनुले उपमहानगरपालिकाको गैरजिम्मेवारीपन स्पष्ट भएको विज्ञप्तीमा उल्लेख छ ।
साथै साहले आफनो बारुणयन्त्र पठाएर आपतको बेला सहयोग गरेकोमा जनकपुरधाम विमानस्थल, धनुषाधाम, क्षिरेश्वारनाथ र सवैलाका साथै महोतरीको जलेश्वर र बर्दिबास नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरेको छ ।





