एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : जनकपुरधामको अति व्यस्त चौक र त्यहाँ स्थित डिपार्टमेन्टल स्टोरमै आगलागी भएपनि जनकपुरधाम उपमहानगरपालिकाको बारुणयन्त्र आउन नसकेपछि स्थानिय सरकार प्रति आक्रोस देखिएको छ ।
शिवचौकवाट केहि मात्र उतरमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा विहान १० बजे आगलगी सुरु भएको र जउनपाको बारुणयन्त्र विग्रेको खवर सुन्ने वितिकै एक समुह जउनपा प्रति जाइ लागे । करिव एक घण्टा पछि छ निकायको बारुण यन्त्र र नेपाल प्रहरी, शस्त्र प्रहरी तथा नेपाली सेना सहितको सुरक्षा निकाय सहित स्थानियहरु आगो निभाउन सक्रिय रहँदा एक समुह जउनपाको विरोधमा प्रदर्शन गर्न थालेका थिए ।

जउनपाको मुख्य गेट अगाडि प्रदर्शन र तोडफोडमा उत्रेका उनीहरुलाई प्रहरीले पहिला आगो निभाउँ भन्दै सम्झाए पछि उनीहरु शान्त भएका थिए । आगो निभाउन धनुषाको क्षिरेश्वरनाथ, धनुषाधाम र सवैला नगरपालिका तथा जनकपुरधाम विमानस्थलको बारुणयन्त्र तथा महोतरीको जलेश्वर र बर्दिवासको बारुणयन्त्र सक्रियता देखाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका प्रतिको आक्रोसका कारण पदाधिकारीहरु त्यहाँ नआएपनि कार्र्यालयका कर्मचारीहरु आगो निभाउन सक्रिय थिए । जनकपुरधाम उद्योग बाणिज्य संघका पदाधिकारीहरु समेतको सक्रिय सहभागिता थियो । करिव २ सय सुरक्षाकर्मी आगो नियन्त्रणको काममा तत्पर थिए ।

करिव सावा ३ घण्टा पछि नियन्त्रणमा आएको भिषण आगलागीवाट पिडितका अनुसार सरसमान र भवन गरि करिव अढाई करोड भन्दा बढीको क्षती भएको छ । सर्वसाधारणको भनाई थियो, ‘आगो लागेको समाजले उपमहानगरपालिकाको मजबुरी हेर्ने होइन पानी हेर्ने हो, आपतकालिन सेवा बिग्रेको अवस्थामा राख्नु गैरजिम्मेवारीपन हो ।’







