एसपी रिपोर्टर
रौतहट, मसिंर २३ :
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढिमाई नपा–८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी जसपा नेता एवं संघिय सांसद अनिल झा र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा शिलान्यास गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रदेश सरकारले सुरु गरेको बिकास निर्माणको योजनाले जनतालाई सङ्घियताको अनुभुती गराएको उल्लेख गरेका छन् ।

नेता झाले प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुले बिकासको नमुना प्रस्तुत गरेको बताए । कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यटकिय विकासमा कोशे ढुङ्गा साबित हुने बताए ।

अभियान अन्तर्गत जानकी मन्दिरवाट शुरु भएको योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सांस्कृतिक धरोहरहरुको सौन्दर्यीकरण गर्दै प्रदेशलाई धार्मिक सांस्कृतिक पर्यटनको हव बनाउने योजना आफुहरुको रहेको उनको कथन थियो ।

त्यसै गरि भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बिनगरा पोखरी सौन्दर्यिकरणले बिकास निर्माणमा सबै दल एक जुट रहेकोे सन्देश प्रवाह भएको उल्लेख गरेका छन् । मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर निर्माण, वाक वे, सौचालय निर्माण सहितको कार्यक्रम रहेकोे मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाले बताए ।

कार्यक्रममा जसपाका नेता बृज किशोर यादव, माधव नारायण नगर पालिकाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा सहितकाले मनतब्य राखेका थिए । साथै मुख्यमन्त्री राउत सहितको टोली रौतहटको मत्सरी स्थित प्रसिद्व माँ दुर्गा भवानी मन्दिर प्राङ्गणमा समेत स्थानियलाई सम्बोधन गरेका थिए ।