एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २० : प्रदेश २ मा जनता समाजवादी पार्टीको एकल नेतृत्वमा सरकार छ । राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेपछि प्रदेश २ मा दुई दल मिलेर बनेको सरकार अब एउटै दल जसपाको भएको छ । पार्टीमा आवद्व बुद्धिजिवीहरुको संगठन नेपाल बौद्धिक पेशाकर्मी महासंघको आयोजनामा आज जनकुरधाममा नेपालको वर्तमान राजनीति सन्दर्भमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
मञ्चमा थिए जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता सरत सिंह भण्डारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत । आयोजक संस्थाका अध्यक्ष एवं मुख्यमन्त्री राउतका स्वकीय सचिव जितेन्द्र यादव समेत मञ्चमै अध्यक्षता गरिरहेका थिए । उदघोषक पत्रकार अशोक दत्त तथा सहजकर्ता वरिष्ठ डा. रामकेवल साहले वक्ताहरुलाई विषयान्तर नहुन तथा चार मिनेटको समयावधीलाई ध्यान दिन पटक पटक आग्रह गरिरहेका थिए । तर एकआध वाहेक कुनै पनि वक्ताले विषयमा बोलेन ।

उदघोषक दत्तले वक्ताहरुलाई विषयमा ल्याउन विभिन्न सांकेतिक सायरीहरु पनि सुनाए तर पनि वक्ताहरु विषयको लयमा नफर्किदा बौद्धिक जमात माथी नै टिप्पनी हुन थाल्यो ।
किन विषयमा बोल्न चाहदैनौं हामि ?
नेपालको वर्तमान राजनीतिक सन्दर्भ त्यसमा जसपाको भुमिका र प्रदेश २ सरकार यस विषयमा वक्ताहरुले बोल्नु पर्ने थियो । तर कसैले ट्राफिक व्यवस्थापन, कसैले जानकी मन्दिर अतिक्रमण त कसैले अस्थाई शिक्षकको पिडा सहितका सुनाउने गरेका थिए । पेशाकर्मीका रुपमा डयासमा सहभागि शिक्षक, चिकित्सक, कलेज सञ्चालक सहितकाले आ–आफनै समस्या सुनाउन थालेपछि दर्जनौ पटक उदघोषकले विषय बस्तु स्मरण गराउन प¥यो तर पनि एक आध बाहेक कसैले विषय पक्रन सकेन ।
केहि सहभागिले भन्दै थियो, ‘आम जनता मात्र होइन अव बौद्धिक वर्ग समेत नेता सहभागी कार्यक्रमलाई गुनासो पोख्ने थलो बुझिसकेका रहेछन् ।’ वास्तवमा कार्यक्रम अहिलेको नेपालको राजनीतिक सन्दर्भ र त्यसमा जसपालाई बौद्धिक जमातले दिनुपर्ने सुझावका लागि आयोजित थियो तर त्यहाँ उल्टै नेताहरु माथी नै प्रश्नको चाङ्ग देखियो । आयोजक मध्येकै एक डा. रामकेवल साह भन्छन, ‘हामीले सुझाव संकलनको उद्देश्य राख्यौ तर प्रश्नै पश्न संकलन भयो ।’

सुरुमै वक्ताहरु विषयान्तर भएपछि अनुभवी पाका वक्ताहरु बोल्नै चाहेन । एक सहभागि भन्दै थिए, ‘अनुभवका खानी बौद्धिक जमातले नै आ–आफनो व्यक्तिगत समस्याहरु बोल्न खोज्छन अनि कसरी नितिगत कुरा आउँछ ? ।’ केहि वक्ता मात्र विषयको लयमा थिए । डा. विजय सिंहले मधेश आन्दोलनको मर्म र मुद्दा बिर्सन नहुने बताए । जसपाको पहिचाननै मधेशवाद रहेकाले मधेशवादको विकल्प नखोज्न उनले नेतृत्वलाई सुझाए । वरिष्ठ इन्जिनियिर भगवान झाले सिचाँई तथा दक्ष जनशक्तिको सदुपयोगमा जोड दिए । डा. भोगेन्द्र झाले दिर्घकालिन महत्वकांक्षी योजनामा जोड दिए ।

डा. जामुन सिंह, डा. रामनरेश पण्डित, निर्मल चौधरी, विष्णु कुँवर सहितकाले धारणा राखेका थिए । सहभागि सवै वक्ताहरुले आ–आफनो धारणा राख्न चिठ दिएपनि समयको पाबन्दीले वक्ता छोटयाइएको थियो । कार्यक्रममा मुख्य न्याधिवक्ता दिपेन्द्र झा, प्रदेश सांसद रामअशिष यादव सहित विभिन्न क्षेत्रका वर्तमान तथा अवकास प्राप्त पेशाकर्मी बौद्धिक जमातको सहभागिता रहेको थियो ।





