एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १८ :
अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाउने क्रममा जनकपुरधाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि सवैको प्रतिवद्वता राष्ट्रिय नाराका साथ देश तथा विश्व भरि डिसेम्वर १ देखि ९ सम्म विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कोभिड १९ कहरमा अपाङ्गता मैत्री वातावरण बन्न नसकेको बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले अपाङ्गता भएका व्यक्तिहरु कोरोना महामारीमा एकदमै समस्या परेको स्मरण गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अपाङ्गता भएकाको अगुवा किरण पासवानले तिन तहको सरकार हुँदा पनि समस्या जिउँको तिउँ रहेको बताए । निति आयोगका दानी कान्त झाले निति निर्माण गर्दा अपाङ्गता मैत्री भए नभएको ख्याल गर्नुपर्ने बताए । कार्यक्रममा अपाङ्गता भएकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा रेखा दत्त, देवकुमारी सहितको उपस्थिती थियो ।