एसपी रिपोर्टर
महोतरी, मसिंर ७ : महोत्तरीको औरही बजारको एक हार्डवेयर पसलको गोदाममा आगलागी भएको छ । केहि बेर अगाडि देखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । औरही नगरपालिका–१ स्थित अम्बिका जेनरल स्टोरको गोदाममा आगलागी भएको हो ।
सेना, प्रहरी र शस्त्र प्रहरी सहित स्थानीयहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । तर, गोदाममा ग्याँस सिलिण्डर भएकोले आगलागी फैलिदैं गएको बताइएको छ । जेनरल स्टोरका संचालक महेश साहको अनुसार आगो कहाँबाट सल्केको बुझन सकिएको छैन भने गोदाममा रहेको ग्यास सिलिण्डरमा आगो लागेर पड्केको कारण आगो झन झन विस्तार हुदै गएको छ ।

औरही नगरपालिकाको बारुण यन्त्र नभएका कारण अहिले गौशाला र वर्दिवास नगरपालिकाको वारुण यन्त्रको सहयातामा आगो निभाउने काम भइरहेको छ । करिब डेढ घण्टा देखि आगो निभाउने प्रयास भइरहेको र नियन्त्रणका लागि जलेश्वर, जनकपुरधाम उपमहानगपालिका, क्षीरेश्वरनाथ नगरपालिका सहितको बारुण यन्त्र पनि समेत मगाइएको जानकारी इलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले दिएका छन् ।


क्षतीको विस्तृत विवरण आउन वाँकी छ ।





