एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ५ : लोक आस्थाको महापर्व छठको अवसरमा जनकपुरधाम सहित यस क्षेत्रको पोखरी, सरोबरमा रमझम देखिएको छ । पोखरी, सरोबर र नदीको घाटहरुमा रौनक छ । दुलही झै श्रृङ्गारिएका घाटमा ब्रतालु, श्रद्धालु र दर्शनालुहरुको चहल पहल बढदै छ । नकपुरधामको गंगासागर, धनुष सागर, अरगज्जा पोखरी, महराजसर, गोरधोहिन पोखरी सहितका सरोबरहरुका साथै यसक्षेत्रका नदी, सरोबरहरुमा रौनक छाएको छ ।
बुधवार नुहाएर खाएका ब्रतालुहरु विहिवार दिन भर उपवास बसी साँझ खरना विधी गरेपछि रोटी खिर खाएर उपवास सुरु गरेका हुन । आज वेलुकी अस्ताउँदा सुर्यलाई अर्घ दिइने र भोली विहान उदाउँदा सुर्यलाई अर्घ दिइएपछि छठको समापन हुने छ । भोली सुर्य नउदाए सम्म ब्रतालुहरु निरन्तर उपवास बस्ने छन् । छठमा विशेषतः सुर्य देवता र छठी मइयाको पुजापाठ गरिन्छ ।

यस पर्वमा गहँले बनेको ठेकुवा, चामलले बनेको भुस्वा, केला, उखुँ, नरिवल सहितका फलफुलहरु माटोले बनेको ढकना, कोसिया कुरवार र बाँसले बनेको ढकिया, सुपा, कोलसुप सहितकोमा चढाईन्छ । यो पर्व अव देशै भरि बनाउन थालिएको छ । प्रदेश २ सरकारले छठको अवसरमा आज र भोली गरि दुई दिन विदाको घोषणा गरेको छ ।





