एसपी रिपोर्टर
काठमाण्डौं, मसिंर २ :
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद विभाजन उन्मुख देखिएको छ । बुधवार बस्ने भनिएको सचिवालय बैठक सार्नुपर्ने पक्षमा रहेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहलाई अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नमानेपछि थप रणनीति तय गर्न बालुवाटारमा ओलीसँगै उनीनिकट नेताहरू भेला भएका छन् ।

भेलामा उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ उपस्थित छन् । भेलामा भोलि बस्ने भनिएको सचिवालय बैठकका सन्दर्भमा ओलीपक्षको आवश्यक रणनीतिका बारेमा छलफल भइरहेको स्रोतको दाबी छ ।

गत शुक्रवार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले दर्जन बढी आरोपसहित प्रस्ताव पेश गरेका थिए । प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठक बस्न नसक्ने ओलीपक्षीय नेताहरूको टिप्पणी छ । तर प्रचण्ड(नेपाल समूह जसरी पनि बैठक बस्ने अडानमा देखिन्छ । मंगलवार बिहान ओलीका तर्फबाट महासचिव विष्णु पौडेल खुमलटार पुगेर भोलिको बैठक स्थगित गर्न आग्रह गरेका थिए । प्रचण्डले बैठक कुनै हालतमा स्थगित नहुने बरू प्रस्तावका बारेमा बैठकमै छलफल हुने भनेपछि पौडेल निराश भएर फर्केका थिए ।

’प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी फूटको बिन्दू नै त्यही हुनेछ,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ’बैठक दुवै अध्यक्षको सहमतिमा हुने विधानमा उल्लेख छ । एकलौटी बैठक बसेर गरिएको कुनै पनि निर्णयले पार्टी विभाजनको रेखा कोर्छ ।’ दुवै पक्षले आफ्नो रणनीति तय गर्न भेटघाट बढाएको छ । आजै प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग खुमलटारमा परामर्श गरेका थिए ।