एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ :
छठ पर्वको अवसरमा जनकपुरधामका एक वडाध्यक्षले एकल तथा वृद्ध महिलाहरुलाई साडी, कम्बल र मोबाइल लगायतका सामग्री वितरण गरेका छन । जनकपुरधाम वडा नं. २ का अध्यक्ष शिवकुमार साहले छठको अवसर पारेर आफ्ना वडाका ७० जना वृद्धा तथा एकल महिलालाई मोबाइल, साडी, कम्बल, मास्क र सेनिटाइजर लगायतका सामाग्री वितरण गरेका हुन ।

यसका साथै अध्यक्ष साहले एक सयभन्दा बढी छठ व्रतालु महिलालाई साडी लगायतका सामाग्री वितरण गरेका छन । अध्यक्ष साहले यसअघि उनले पाएको तलबबाट वृद्ध महिला तथा एकल महिलालाई काठमाडौ लगायतका ठाउँमा भ्रमण गराएका थिए । अध्यक्ष साहले वडामा राहत र सामाग्री वितरण लगायतका काम समेत गर्दै आएका छन् । वडामा उनी स्वतन्त्र जितेका थिए ।

संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘वृद्ध तथा एकल महिलालाई सेवा गर्दा आत्म सन्तुष्टिको साथै उनीहरुको आर्शिवाद समेत प्राप्त हुने भएकोले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको हुुँ ।’ आगामी दिनमा पनि वृद्धा तथा एकल महिलालाई भ्रमणका साथै राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।