एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २७ :
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहले लकडाउन अवधीको शुल्क छुट गर्न निजि विद्यालयका सञ्चालकहरुलाई आग्रह गरेका छन् । मेयरको साहको आग्रह प्रति निजी विद्यालयका सञ्चालकहरु समेत सकारात्मक देखिएका छन् । बुधवार जनकपुरधाममा प्याबसन र एनप्याबसनद्वारा शुभ दिपावली, सामाचकेवा र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मेयर साहले लकडाउन अबधीको शुल्क छुट गर्न आग्रह गर्दै निजी विद्यालयका सञ्चालकहरुको समस्यामा आफु सहयोग गर्न तयार रहेको बताए ।

मेयर साहको आग्रहमा निजी विद्यालयका सञ्चालकहरु समेत सकारात्क देखिए र ताली बजाए । मेयर साहले भने, ‘तपाईहरुको समस्या पनि मलाई थाहा छ, आर्थिक सहयोग गर्न सक्दैनौ तर हरेक प्राविधिक सहयोग गर्छौ ।’ कार्यक्रम पछि विद्यालय तथा कलेजका सञ्चालकहरु छलफलमा जुटेको र शुल्क छुटका बारेमा प्रमुख साहले गरेको आग्रहलाई आधिकारिक निर्णय गर्ने तयारी भइरहेको बुझिएको छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सवै वडाका वडा अध्यक्षहरुलाई समेत आमन्त्रण गरि सम्मान गरिएको छ । साथै नेपालमै पहिलो पटक टेलिभिजनवाट पढाईको सुरुवात जनकपुरधामवाट भएको र त्यसमा टाइम्स टेलिभिजनले निशुल्क समय साधन स्रोत सहयोग गरि पढाईको वातावरण बनाइदिएको भन्दै टेलिभिजनका सञ्चालक विष्णु कुवँरलाई समेत सम्मान गरिएको छ ।

मेयरको आक्रोस

मेयर साहले कर्मचारी तन्त्रको कारण स्थानिय सरकार सञ्चालनमा व्यवधान रहेको बताए । उनले देशमा अझै पनि बाहुन÷क्षेत्री, शाहकालिन शक्ति र कर्मचारी तन्त्र हावी रहेको र परिवर्तण पछिको सरकारलाई फेल गर्न एकात्मक केन्द्रिकृत शासन गर्नेहरुको एजेन्टहरु अझै सक्रिय रहेको बताए । मेयर साहले भने, ‘छ बजे विहानै सरसफाई गर्न आउने सफाई कर्मचारीहरुलाई प्रसादको लड्डु खुवाँउदा पनि भ्रष्टाचारको शंका गरिन्छ, सफाई कर्मचारीलाई प्रोत्साहन भत्ता समेत दिन सकिरहको छुइन कसरी हुन्छ ? ।’

कार्यक्रममा एनप्यावसनका केन्द्रिय उपाध्यक्ष बजेन्द्र मिश्र, प्यावसनका प्रदेश २ सचिव विश्वलाल सिंह सहितकाले कोरोनाको कहर, शिक्षाको अवस्था तथा मैथली र संस्कृत शिक्षाको अनिवार्यताका विषय सहित शुभकामना मनतब्य राखेको एनव्यावसन धनुषाका उपाध्यक्ष आशिस झाले बताए ।