एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १२ : नेकपा पर्साको विन्दवासनी गाउँपालिकाको कमिटी सचिव मुकेश चौरासियाको हत्या भएको एक हप्ता भइसक्यो । टाउकोमा बाँसको लाठी प्रहारले गम्भीर घाइते भएका ४२ वर्षीय चौरसियाको शुक्रबार बिहान करिब १० बजेको समयमा वीरगन्जस्थित एल.एस.न्युरो हस्पिटलमा मृत्यु भएको थियो । हत्यामा संलग्न भएका भनिएका व्यक्ति विरुद्ध दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको छ ।
झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बिहीबार साँझ करिब ५ बजेको समयमा नियन्त्रणमा लिइएका गुप्तालाई प्रहरीले राति ९ बजे छोडेको थियो । गुप्ता प्रहरी नियन्त्रणमा रहेको जानकारी पाएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बशरुद्दीन अन्सारी पनि जिल्ला प्रहरी कार्यालय आइपुगेका थिए । अर्को पक्षका दुई जना घाइतेको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको थियो ।
चौरसियाको अवस्था गम्भीर बनेको खबर आएपछि मेडिकलमा उपचारार्थ उत्तम तिवारी र चिन्टु तिवारी भागेका थिए । हालसम्म उनीहरु फरार नै छन् । दुई जना अस्पतालबाटै भागेपछि प्रहरीले बशरुद्दीनलाई पनि केही बेर सोधपुछ गरेको थियो । शुक्रबार चौरसियाको मृत्यु भएपछि उनका परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर प्रहरीले जाहेरी लिन मानेन ।

आरोपिविरुद्ध जाहेरी लिन नमान्नुमा नेकपा केन्द्रबाट दबाब परेको भनिएको छ । र मृत्यु हुने चौरासिया पूर्व नेकपा माओवादी केन्द्रका नेता हुन र हत्याका आरोपिहरु पूर्व नेकपा एमालेका नेताहरु हुन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि नेकपा पर्साका इन्चार्ज, सचिव, गाउँपालिका अध्यक्ष लगायतका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् । धर्नामा पूर्वमन्त्री तथा नेकपा नेता मात्रिका यादवले सहभागिता जनाएका छन् ।
नेकपा अध्यक्ष दाहालले कात्तिक ९ मा विज्ञप्ति जारी गरी चौरसियाको हत्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको दाहालले बताएका छन् । अर्का अध्यक्ष केपी ओली प्रधानमन्त्री, पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री भएको अवस्थामा दाहाल पक्षधर नेताको हत्या हुनु र किटानी जाहेरी नलिनुले शक्ति संघर्ष चुलिएको अनुमान गर्न धेरै कठिन छैन ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालेसमेत कात्तिक ८ मा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए । एता प्रदेश २ मा उपलब्ध प्रचण्ड पक्षधर तत्कालिन माओवादीका नेताहरुको बैठकले किटानी जोहरी दर्ता गर्न दबाबका लागि तयारी गर्ने निर्णय गरेको छ ।
नेकपा केन्द्रिय सदस्य विश्वनाथ साहको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य एवम् पुर्वमन्त्री मातृकाप्रसाद यादव र केन्द्रिय सदस्य रामचन्द्र झाको विशेष उपस्थितिमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको आज बसेको बैठकले पार्टीका पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटी सचिब मुकेश चौधरीको हत्या जाहेरी यथाशीघ्र दर्ता गरि हत्यारालाई कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार, कर्तव्यच्युत भएका पर्साका प्रहरी प्रमुखलाई कारबाही सहितको माग समेत गरेको छ ।



