काठमाण्डौं, कात्तिक ६ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयल बीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।
भेटका क्रममा गोलयले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् । रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् ।

प्रचण्डले भन्यो ‘भेटेको छैन’
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ । विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनुभएको छ । उहाँलाई भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन ।’

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताए । भारतीय गुप्तचरको आगमनबारे प्रचण्ड सचिवालय अनभिज्ञता यदि सही हो भने यो भ्रमणबारे प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी सचिवालयमा कुनै पनि छलफल वा पूर्वजानकारी नदिएको देखिन्छ । नेकपाको गत स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालन दुई अध्यक्षवीचको सरसल्लाहमा गर्ने भनिएको थियो ।
पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए । पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भन्ने गरेका थिए । तर, अहिले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरलाई नेपाल निम्त्याउँदा पार्टीमा कुनै सल्लाह नै नगरेको प्रचण्डका निकटस्थहरु बताउँछन् । प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले प्रेस नोट नै जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
रअका प्रमुख गोयल र प्रचण्डवीच भेट भएको भन्ने कतिपय सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्ने सापकोटाले भनेका छन्, ‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’
देउवाले पनि नभेटेको दावी गर्दै

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ । रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् । रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भेटेको पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बक्तव्य नै जारी गरेर रअ प्रमुख बुधबार बेलुका बालुवाटार आएको र भेटवार्ता भएको स्वीकार गरेका हुन् ।्
नेपालले भने ‘मैले भेटेकै छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको बताएका छन् । वरिष्ठ नेता नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन् । ट्विटरमा उनले लेखेका छन्, ‘लेखिएको छ, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबचि भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
रावलको आक्रोस ‘आपती जनक काम भयो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको विरोध गरेका हुन ।
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उनले लेखेका छन्, ‘कुटनीतिक मर्यादा विपरीत छ ।
‘रअ’ का हाकिम काठमाडौं किन आए ? सरकारले जवाफ देओस्
मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले नेपाली नागरिक उड्यन मन्त्रालयसँग कूटनीतिक उडानका लागि अनुमति माग्यो । कोभिडका कारण नेपाल र भारतका वीचमा नियमित उडान नभएका कारण सो अनुमति मागिएको थियो । सो प्रस्ताव तुरुन्तै परराष्ट्र मन्त्रालयमा पुग्यो । सो प्रस्तावका सम्बन्धमा मन्त्रालयमा केहीबेर छलफल भयो । तर, कूटनीतिक उडानका लागि अनुमति नदिने कुरै थिएन, मन्त्रालयले तुरुन्तै अनुमति दियो ।
उसो त भारतले केही समयदेखि नियमित उडानको मागसमेत गर्दै आइरहेको थियो । कूटनीतिक अनुमति पाएको भारतीय उडान बुधबार मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लियो । सो उडानमा भारतका को–को कूटनीतिज्ञहरु आएका थिए भन्ने विषयमा उडानको अनुमति दिने परराष्ट्र मन्त्रालयलाई केही जानकारी छैन । समाचार स्रोतका अनुसार भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेतृत्वमा ९ सदस्यीय टोली बुधबार एयरफोर्समार्फत काठमाडौं आएको हो । तर, रक्षा मन्त्रालयसमेत प्रधानमन्त्री ओलीले नै सम्हालेका बेला भारतीय गुप्तचरको यो भ्रमणलाई सरकारले ‘गोप्य’ राखेको छ ।
गुप्तचर प्रमुख गोयल काठमाडौं आउने दिन प्रधानमन्त्री ओलीमा विशेष सक्रियता देखिएको थियो । प्रधानमन्त्री बुधबार साँझसम्म सुरक्षा परिषदको बैठकमा व्यस्त बनेका थिए । यतिबेला अर्काे प्रश्न चिन्ह पनि उत्पन्न भएको छ । गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ? सुरक्षापरिषदको बैठकपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेका थिए ।

गोयलको यो भ्रमणबारे परराष्ट्र मन्त्रालय भने केही बताउन सक्ने अवस्थामा छैन । किनभने, यसको सबै तारतम्य प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीको तहबाटै मिलाइएको छ । रअ प्रमुख सामन्तले काठमाडौंमा क–कसलाई भेटे भन्नेबारे पनि परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन । केवल एयरफोर्समा आउने टोलीलाई अनुमति दिनमात्रै परराष्ट्रसँग अनुमति मागिएको तर, काठमाडौंमा हुने भेटघाटको अनुमति नमागिएको परराष्ट्रका कर्मचारी बताउँछन् ।
जबकि कोही पनि विदेशीले नेपालमा आएर राजनीतिक भेटघाटहरु गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई भेट्न मिल्दैन । अनुमति लिएर भेट गर्दा पनि परराष्ट्र मन्त्रालयको प्रतिनिधिलाई साथमा राख्नुपर्छ । पूर्वप्रधानमन्त्रीहरुसँग भेट्दा पनि विदेशीले अनुमति लिनुपर्ने परराष्ट्र मन्त्रालयको आचारसंहितामा छ । तर, यतिबेला सो कूटनीतिक आचारसंहितालाई लत्याइएको छ । गोयलले काठमाडौंमा क–कसलाई भेटे भन्ने सरकारले खुलाएको छैन । सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्डको सचिवालयले भने गोयलसँग भेटघाट नभएको बताएको छ ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कांग्रेस सभापति देउवासँग भेटघाटको सेड्युल नरहेको बताउँछन् । सुरक्षाको मामिलामा आएको हुन सक्ने भएकाले राजनीतिक भेटघाट नगरी प्रधानमन्त्रीलाई मात्र भेटेको हुन सक्ने शर्माको विश्लेषण छ । आफैंले कूटनीतिक उडानको अनुमति दिएको र यति चर्चा भइसकेको यस विषयमा जनतालाई यथार्थ जानकारी गराउने दायित्व सरकारको हो । नेपालले सीमासम्बन्धी वार्ताका लागि उच्च राजनीतिक र प्रशासनिक तहमा वार्ताको प्रस्ताव गरिरहेको समयमा खुफिया एजेन्सीका अधिकारीहरु भ्रमणमा आउनु र नेपालका नेताहरुसँग खुला रुपमा भेटघाट गर्नु सामान्य विषय होइन । नेपालले दुई देशका परराष्ट्र सचिव एवं परराष्ट्रमन्त्रीहरुको बैठक गर्न भनिरहेको छ, तर भारतले कोभिडको कारण देखाउँदै सम्भव नभएको बताउँदै आएको छ । भारतले अन्य छिमेकी देशहरुसँग भने कोभिडकै बेलामा वार्ताहरु गरिरहेको छ । नेपाललाई चाहिँ उसले उपेक्षा गर्दै आएको छ ।
तर, कोभिडको संक्रमण नै उच्च रहेको समयमा खुफिया एजेन्सीका व्यक्तिहरु काठमाडौं आएर सरकारका उच्च अधिकारीहरुसँग भेटघाट गरेका छन् । यसले गर्दा कतै विगतमा जस्तै नेपाल मामिलामा खुफिया एजेन्सी हावी भएको त होइन भन्ने प्रश्न चिन्ह उत्पन्न भएको हो । केही वर्षयता नेपालमा खुफिया एजेन्सीको प्रभाव कम भएको थियो । तर, फेरि हामीले नै आमन्त्रण गरेर उनीहरुलाई ‘स्पेस’ दिन लागेका त होइनौं ? गोयलको भ्रमण यस्तो प्रश्न उब्जिएको छ ।
यतिबेला अर्काे प्रश्न चिन्ह पनि उत्पन्न भएको छ । गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ? प्रधानमन्त्री ओलीले पछिल्लो समयमा भारतसँग विभिन्न सूत्रमार्फत कुराकानी अगाडि बढाइरहेका छन् । त्यही सिलसिलामा कतै ओलीले नै परामर्शका लागि बोलाएका त होइनन् । त्यसैले ओली सरकारले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । स्रोतका अनुसार ‘रअ’ प्रमुखको नेपाल भ्रमणको पहिलो उद्देश्य नेकपाभित्रको शक्ति संघर्षको अवस्थाबारे बुझ्नुसमेत रहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद पुनः बल्झिरहेको समय पारेर उनी काठमाडौँ आएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वीच द्वन्द्व बढेको छ ।
भारतीय संचार माध्यमहरुले पनि उनी राजनीतिक मिसन लिएर नेपाल भ्रमणमा आएको उल्लेख गरेका छन् । उच्च भारतीय स्रोतलाई उल्लेख गर्दै भारतको दि प्रिन्ट अनलाइन लेख्छ, ‘गोयल काठमाडौंमा केही घन्टा मात्र रहनेछन् र त्यस क्रममा उनले प्रधानमन्त्री केपी ओली र उनका प्रतिद्वन्द्वी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पार्टीको द्वन्द्वको अवस्था मूल्याङ्कन गर्नेछन् र त्यसको सम्भावित नतिजा थाहा पाउने प्रयास गर्नेछन् ।’ दोस्रो, भारतीय सेना प्रमुख एमएम नरवाणेको नेपाल भ्रमणको औपचारिक घोषणा भएपछि उनी नेपाल भ्रमणमा आएका छन् । पछिल्ला केही हप्ता यता नेपाल र भारतवीचका विभिन्न च्यानलमार्फत कुराकानी भइरहेको छ र सम्बन्धलाई सामान्यीकरणतर्फ लैजाने प्रयास भइरहेको समयमा उनको नेपाल भ्रमण भएको छ । यिनै वार्ताको श्रंखलामा भारतीय राजनीतिक नेतृत्वको सन्देश लिएर उनी आएको हुन सक्ने धेरैको विश्लेषण छ ।
तेस्रो, सीमाको विषयमा पनि कुराकानी हुन सक्ने समाचार स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘सीमा विवादका बारेमा पनि नेपाली पक्षको धारण बुझ्नु उनको उद्देश्य हो, तर त्यो मुख्य कारण भने होइन । मुख्य नेकपाभित्रको तनावका बारेमा बुझ्नु नै हो ।’ यस अगाडि गोयलले सन् २०१९ को जुलाई महिनामा ‘रअ’ प्रमुख भएपछि नेपालको भ्रमण गरेका थिए । त्यसबेला उनी औपचारिक भ्रमणमा आएका थिए । राष्ट्रिय अनुसन्धान विभागको निम्तोमा नेपाल आएका उनले त्यसबेला केपी ओलीलाई समेत भेटेका थिए ।
केपी ओलीले नेतृत्व गरेको यो सरकार राष्ट्रवादको जगमा उभिएर बनेको हो । अहिले भारतले नेपालको सीमा मिचेको अवस्था छ र वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि मानिरहेको छैन । यस्तो बेलामा राजनीतिक तहमा छलफल र वार्ता हुनुपर्नेमा अपारदर्शीरुपमा भएको गुप्तचर प्रमुखको भ्रमणले सरकारमाथि प्रश्न उठ्नु स्वाभाविकै हो । त्यसैले, यसबारे यथार्थ के भएको हो, सरकारले जनतालाई औपचारिक जानकारी दिन जरुरी छ । राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सूचना पाउनु जनताको नैसर्गिक अधिकार हो ।
अनलाइन खवरको सहयोगमा


