एसपी रिपोर्टर
काठमाण्डौं, कात्तिक ३ :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो । बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ ।

सांसदहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए । प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा बाँडिएको भत्ता कोरोना कोष जम्मा गर्ने निर्णय नै उचित हुने बताएका थिए । दुवै सदनका नेताहरुको बैठकले सर्वसाधरणलाई सामान्य तरिकाले दसैँ मनाउन आग्रह समेत गरेको नेम्वाङले बताए । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेसको पनि निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने भएको छ । यसअघि सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए । सरकारले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१० रुपैयाँ रकम संघीय संसदमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीका कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दभिक र उचित नभएकोले कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपलब्ध गराइएको दसैँ भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गर्दछ ।’