एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ :
हरवा चरवा समुदायका विभिन्न माग सम्बोधन गर्न दबाब दिँदै जनकपुरधामस्थित मधेस भवनअगाडि सुरु गरिएको धर्ना एक सातादेखि निरन्तर जारी छ ।
हरवा चरवा परिवारको लगत संकलन तथा प्रमाणीकरण गरी तत्काल परिचयपत्र वितरणको प्रक्रिया सुरु गर्नुपर्ने मागसहित संघर्ष समितिले धर्ना जारी राखेको हो । धर्नामा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका हरवा चरवा समुदायका सदस्य सहभागी छन् ।
संघर्ष समितिले भूमिहीनता तथा श्रम शोषणको समस्या भोगिरहेका हरवा चरवा परिवारको यकिन पहिचान गरी उनीहरूको दिगो पुनःस्थापनाका लागि स्पष्ट कार्ययोजना ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
संघर्ष समितिका सदस्य लागेन्द्र सदाका अनुसार पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि मागप्रति गम्भीरता नदेखाइएपछि आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको हो । लामो समयदेखि राज्यसँग आफ्ना माग सम्बोधनका लागि आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनले बताए ।
सरकारले मागप्रति बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत सदाले दिए । उनका अनुसार हरवा चरवा समुदायको अधिकार, पहिचान र पुनःस्थापनाका विषयमा सरकारले विगतमा गरेका प्रतिबद्धता व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
सरकारलाई आफ्ना मागप्रति गम्भीर बनाउन मधेस भवनअगाडि धर्ना सुरु गरिएको र माग पूरा नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।