एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १४ :
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देश विपद्को चपेटामा परेका बेला सरकारको आलोचना र राजनीतिक आरोप प्रत्यारोपमा अल्झिनुभन्दा उद्धार, राहत तथा पुनःस्थापनाका काममा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
जनकपुरधाममा आयोजित नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता हुनुपर्ने बताए । सरकारका कमजोरी देखिए आवश्यक सुझाव र सहयोगमार्फत सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
यद्यपि सरकारलाई आवश्यक सुझाव र खबरदारी गर्नबाट आफूहरू पछि नहट्ने स्पष्ट पार्दै नेपालले तत्कालको उद्धार तथा राहतसँगै भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन तयारीमा ध्यान दिन सरकारलाई आग्रह गरे । विपद् आएपछि मात्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्दै पूर्वतयारी, जोखिम न्यूनीकरण, उद्धार क्षमता विस्तार र प्रभावकारी राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपालले कम्युनिष्ट शक्तिबीच एकता र सहकार्यको आवश्यकतामाथि पनि जोड दिए । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन कार्यकर्ता जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने भन्दै उनले जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, अपेक्षा र आवश्यकताबारे जानकारी लिन निर्देशन दिए ।
जनतासँगको सम्बन्ध कमजोर हुँदै गए राजनीतिक संगठनसमेत कमजोर हुने उल्लेख गर्दै नेपालले लोकतन्त्रमा जनता पानी र राजनीतिक कार्यकर्ता माछाजस्तै भएको उदाहरण दिए । जनताका सुख–दुःखमा साथ दिँदै उनीहरूका वास्तविक समस्या समाधानमा केन्द्रित हुन सके मात्र राजनीतिक दलप्रति जनविश्वास बढ्ने उनको भनाइ थियो ।





