एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ :
महोत्तरीमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गरिएको छ। शनिबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। सम्पर्कविहीन नागरिक सकुशल फेला परून् तथा घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामनासमेत गरिएको छ।
विपद्पीडितका लागि महोत्तरीबाट संकलन गरिने राहत सामग्रीलाई व्यवस्थित गर्न एकद्वार प्रणाली अपनाइने भएको छ। खाद्यान्न, लत्ताकपडा, औषधिलगायत सामग्री संकलनका लागि उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहसँग समन्वय गरी जिल्लाका प्रमुख स्थानमा राहत संकलन केन्द्र स्थापना गरिनेछ।
संकलित राहत सामग्री प्रभावित क्षेत्रमा सुरक्षित रूपमा पु¥याउन आवश्यक ढुवानी तथा सुरक्षा व्यवस्था मिलाइने र सामग्रीको अभिलेख राखी विवरण सार्वजनिक गरिने बैठकले जनाएको छ।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वेच्छिक नगद सहयोग संकलन गर्ने निर्णयसमेत भएको छ। कर्मचारी, जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणलाई आर्थिक सहयोगका लागि आह्वान गर्ने र संकलित रकम सम्बन्धित आधिकारिक कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ।
आर्थिक सहयोगमा पारदर्शिता कायम गर्न जिल्ला प्रशासन कार्यालयको वेबसाइटमार्फत नियमित रूपमा आय–व्यय विवरण सार्वजनिक गर्ने निर्णय भएको छ।
बैठकले भोटेकोशी विपद्बाट पाठ सिक्दै महोत्तरीमा सम्भावित प्राकृतिक विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको छ।
यसैबीच, रसुवागढी नाका, त्रिशूली करिडोरका जलविद्युत् आयोजना तथा ट्रेकिङ क्षेत्रमा रोजगारी वा अन्य कामका लागि पुगेका महोत्तरीका नागरिकमध्ये कोही बेपत्ता वा सम्पर्कविहीन भए/नभएको विवरण संकलन गरिने भएको छ। सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको पहिचान र अवस्थाबारे यथार्थ विवरण जुटाइने बैठकले जनाएको छ।