एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ :
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूबीचको एकताले मात्र देशलाई जोगाउन सक्ने बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रको आयोजनामा ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपालले देशको रक्षा र राजनीतिक स्थायित्वका लागि कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए ।
उनले नेपाली समाज र राष्ट्रको रूपान्तरणका लागि नेपाली विशेषताको समाजवादको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । चीनले अवलम्बन गरेको विकास नीतिबाट नेपालले पनि आवश्यक पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

विश्वमा पुँजीवाद र समाजवाद दुई प्रमुख विचारधारा रहेको उल्लेख गर्दै नेपालले पुँजीवादले समाज र राष्ट्रलाई विखण्डनतर्फ धकेल्ने दाबी गरे । नेपालमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक असमानताको अन्त्यका लागि समाजवाद आवश्यक रहेको उनले बताए ।
जनतालाई गरिबी र बेरोजगारीबाट मुक्त गर्दै सामाजिक न्याय सुनिश्चित गर्न समाजवाद नै उपयुक्त व्यवस्था भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र राय यादवले नेपालमा साम्राज्यवादी शक्तिहरूले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने तथा समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
गत वर्ष भदौ २३ र २४ गतेका घटनापछि देशमा साम्राज्यवादी शक्तिको प्रभाव बढेको दाबी गर्दै यादवले कम्युनिष्ट पार्टीहरूलाई कमजोर पार्ने प्रयास भइरहेको बताए । यस्तो परिस्थितिमा वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीचको एकता अपरिहार्य रहेको उनको भनाइ थियो ।
पुष्पलाल मित्रता केन्द्रका उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामचन्द्र झा, रत्नेश्वरलाल गोइत, नेकपा एमालेका मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ तथा वाम बुद्धिजीवी रोशन जनकपुरी लगायतको उपस्थिति थियो ।