एसपी रिपोर्टर

जनकपुरधाम, साउन ३१ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी मन्त्री निशा मेहताले शनिबार सिरहाको लहान स्थित सरकारी अस्पतालहरूको अनुगमन गर्दै मधेसमा ट्रमा सेन्टर स्थापनाका विषयमा स्पष्ट कुरा राखेकी छन् । उनले तत्काल लहान स्थित प्रादेशिक अस्पतालमा आवश्यकताको आधारमा ट्रामा युनिटको मात्र स्थापना गर्न लागेको बताउँदै धनुषाको ढल्केबरमै ट्रमा सेन्टरको स्थापना हुने र त्यसमा समय लाग्ने बताएकी छिन् ।

ट्रमा सेन्टर रातारात बन्ने चिज होइन, उनले भनिन्, डिपिआर, बजेट, पूर्वाधार सबै कुरा भइसकेपछि मात्र ट्रामा सेन्टर बन्छ र त्यसको लागि धेरै समय लाग्छ। लहान स्थित प्रादेशिक अस्पतालको जग्गा अस्पतालको नाउँमा सुरक्षित गर्न पहलकदमी लिएका प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा भएको निरीक्षण अवलोकनमा प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले पनि ढल्केवर र लहान दुवै ठाउँमा ट्रमा सेन्टर बन्नुपर्ने स्पष्ट धारणा राखेका थिए ।

मन्त्री भएकाले सुनसरी आफ्नो माइती र मधेश प्रदेश आफ्नो ससुराली मुख्य घर रहेकोले मधेसका सम्पूर्ण जिल्ला र सहरहरूका साथै देशका सबै भूगोललाई सम्मान, व्यवहार र कसैसँग काखापाखा नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मधेस मेरो मुख्य घर हो, उनले भनिन्, घरको माया यसमै र सद्भाव सबैलाई अलिकति हुन्छ नै, तर हामीले देश बनाउनु छ भन्ने कुराको हेक्का पनि जरुरी छ। कुनै सुविधा यहाँ हुनुपर्छ त्यहाँ हुनुभएन भन्दै विरोध गर्नुको साटो नभएका सुविधा आफ्नो नजिक कसरी ल्याउने भन्ने कुरामा प्रतिबद्ध र सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रादेशिक अस्पताल लहानकी अस्पताल प्रमुख वर्षा प्रकाशले प्रस्तुत गरेको अस्पतालको वर्तमान अवस्था, चुनौती, समस्या, आवश्यकता, स्रोत-सम्पत्ति र भौतिक पूर्वाधार सहितको प्रतिवेदन ध्यानपूर्वक सुन्दै मन्त्री मेहताले आफूजस्तै मधेशकी एक महिलाले प्रादेशिक अस्पताल चलाइरहेको देख्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिइन् । उनले महिलाको नेतृत्वमा कुनै भेदभाव र काखापाखा नहुने कुरा स्वाभाविक रहने गरेको दाबी गर्दै महिला नेतृत्वलाई सबै पक्षले सहयोग गर्नुपर्ने धारणा समेत राखिन् ।

आफ्नो भूमि मधेशमा रहेको सम्पूर्ण समस्या मन्त्रीको हैसियतले आफ्नै समस्या जस्तो रहेको धारणा व्यक्त गर्दै मन्त्री मेहताले सम्पूर्ण समस्याहरू चुट्कीमा समाधान हुन नसक्ने विश्व मान्यतालाई आत्मसाथ गर्दै परिवर्तनका लागि आएको सरकारलाई धैर्यतापूर्वक समय दिएर पर्खिन र काममा सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।