एसपी रिपोर्टर

जनकपुरधाम, साउन ३० : हाल जथाभावी प्रयोग भइरहेको एन्टिबायोटिक औषधिको प्रभाव पाँच-दश वर्षपछि महामारीको रूप लिने भन्दै सचेतनाका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा बृहत अभियान थालिएको छ ।

कल्किजम रिसर्च एण्ड ट्रेनिङ सेन्टर काठमाडौँले करिब एक वर्ष अगाडिदेखि नै छलफल, गोष्ठी, प्रशिक्षण सहितका कार्यक्रमहरूका माध्यमले थालेको अभियानमा अब मधेस प्रदेश सरकार र चिकित्सकहरूको संगठन तथा जमात पनि सहभागी भएपछि तीव्रता पाएको छ ।

बिना डोज पूरा गर्दै हाल जथाभावी एन्टिबायोटिकको प्रयोग भइरहेको छ, जसले गर्दा शरीर रेसिस्ट हुँदै गएको र एक दशकपछि शरीरमा एन्टिबायोटिकले कामै गर्न छोड्ने र त्यसपछि कोरोनाभन्दा पनि ठूलो महामारीको भयावह रूप लिन सक्ने भन्दै अभियानको रूपमा यसलाई तीव्रता दिइएको छ ।

यसअघि जनकपुरमा रेखा थापा सहितका चर्चित कलाकारहरूलाई समेत बोलाएर सुरु गरिएको अभियानमा प्रदेश सरकारको समेत संलग्नता भएको छ । स्वास्थ्य मन्त्रीलाई छेउमै राखेर मधेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अभियानमा मधेश सरकार र स्वास्थ्य मन्त्रालयको सहयोग रहने बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिद्वय डा. अंकुर साह र डा. अजय मिश्रले अभियान जनताको हितमा रहेको बताए ।

हाल नेपाली समाजमा एन्टिबायोटिकको भइरहेको जथाभावी प्रयोग करिब एक दशकपछि कोरोनाभन्दा पनि ठूलो महामारीको रूप लिने आयोजक तथा चिकित्सकहरूको दाबी छ । ‘रोज कुरा गर्नु, रोज कुरा गर्नु, डाक्टरले भनेको डोज पूरा गर्नु’ नाराका साथ बृहत रूपमा परिणत हुन थालेको यो अभियानमा मधेस प्रदेशका चिकित्सकहरू, मेडिकल कलेजका छात्र-छोराछोरीहरू, मधेस प्रदेश सरकारका मन्त्रीपरिषद्का अर्थमन्त्री, स्वास्थ्यमन्त्री, वनमन्त्री सहित विभिन्न क्षेत्रका अगुवाहरू र स्वास्थ्य अभियन्ताहरूको सक्रिय सहभागिता थियो ।