एसपी रिपोर्टर
जनकपुरधाम, असार ३२ :
धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समिति धनुषा र स्वास्थ्य कार्यालय धनुषाको आयोजनामा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय मापदण्ड पूरा गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले पूर्ण खोप सुनिश्चितता घोषणा औपचारिक उपलब्धिमात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति राज्यको प्रतिबद्धताको महत्वपूर्ण प्रमाण भएको बताए। उनले कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जिल्लाका १८ वटै स्थानीय तहले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै सूचक पूरा गरेपछि धनुषालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जानकारी दिए।
उनका अनुसार अब नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने, खोप छुटेका बालबालिकाको खोजी, अभिलेख व्यवस्थापन, नियमित अनुगमन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिइनेछ, ताकि प्राप्त उपलब्धि दीगो रूपमा कायम रहोस्।
कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा जिल्लाका १८ वटै स्थानीय तहमा खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न योगदान पुर्‍याएका स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको थियो।