एसपी रिपोर्टर
जनकपुरधाम, असार ३२ :
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण परिवर्तनको चर्चा भइरहे पनि त्यसको प्रत्यक्ष असर मधेश प्रदेश सरकारमा तत्काल नपर्ने सत्तारुढ दलका नेताहरूले बताएका छन्।
उनीहरूका अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार आगामी निर्वाचनसम्म निरन्तर सञ्चालन हुने समझदारी तीन दलबीच कायम छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री एवं नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच भएको छलफलमा प्रदेश सरकारको स्थायित्व र गठबन्धनलाई निरन्तरता दिने विषयमा सहमति भएको जनाइएको छ।
नेताहरूले गत जेठ १२ गते सरकार विस्तारका क्रममा कांग्रेस, एमाले र नेकपाबीच निर्वाचनसम्म गठबन्धन कायम राख्ने गरी १५ बुँदे सहमति भएको स्मरण गराउँदै सोही सहमतिअनुसार सरकार अघि बढ्ने बताएका छन्।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सरकारभित्र कुनै विवाद नरहेको स्पष्ट पार्दै केन्द्रको राजनीतिक घटनाक्रमले मधेश सरकारलाई प्रभावित नगर्ने बताए। उनका अनुसार प्रदेशस्तरमा गठबन्धन मजबुत रहेको र विगतमा पनि केन्द्र र प्रदेशमा फरक–फरक राजनीतिक अभ्यास भएका उदाहरण छन्।
अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराईले मधेश प्रदेश सरकार विशेष राजनीतिक परिस्थितिमा गठन भएकाले अन्य प्रदेश वा केन्द्रको राजनीतिक समीकरणले यहाँको गठबन्धनमा असर नपर्ने बताए। उनले आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मत रूपमा पारित भइसकेकाले सरकारलाई स्थिर रूपमा अघि बढाउने विषयमा दलहरूबीच थप समझदारी भएको जानकारी दिए।
मुख्यमन्त्री कृष्णप्रसाद यादव गत मंसिर १९ गते विभिन्न दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसयता प्रदेशको राजनीतिक समीकरणमा परिवर्तन भए पनि हाल कांग्रेस, एमाले र नेकपाको समर्थनमा सरकार सञ्चालन भइरहेको छ।
केन्द्रमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला पनि मधेश प्रदेशका सत्तारुढ दलका नेताहरूले प्रदेश सरकार आगामी निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन्।





