एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
किर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका अन्सारीसहित जेनजी आन्दोलनमा आबद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका हुन्।
आइतबार जनकपुरधामको रामानन्द चोकमा आयोजित प्रदर्शनमा सहभागी युवाहरूले सरकारविरोधी प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरूले सामाजिक अभियानमा संलग्न युवामाथि बल प्रयोग गरिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन्।
विरोध सभालाई सम्बोधन गर्दै जेनजी मुभमेन्ट एलायन्सका मधेश प्रदेश प्रतिनिधि नइम राइनले राज्यले प्रहरी परिचालन गरी दमनात्मक व्यवहार गरेको आरोप लगाए। उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलन गर्ने संवैधानिक अधिकारमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए।
राइनले सरकार र प्रहरी प्रशासनले दमनकारी शैली नत्यागे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिँदै नागरिक अधिकारको संरक्षणका लागि जेनजी आन्दोलन निरन्तर जारी रहने बताए।