एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. अजय कुमार मिश्र चयन हुनु भएको छ । नेपाल सरकारले वहाँलाई सो जिम्मेवारीका लागि नियुक्त गरेको हो । नेपाल सरकारकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी मन्त्री निशा मेहताले नियुक्ती पत्र प्रदान गरेकी हुन ।

चिकित्सा सेवा, शिक्षा र अनुसन्धानका अग्रणी व्यक्तित्व प्रा. डा. अजय कुमार मिश्र एक प्रख्यात मुटुरोग विशेषज्ञ (Cardiologist), शिक्षाविद्, अनुसन्धानकर्ता तथा स्वास्थ्य प्रशासक हुनुहुन्छ। उहाँले चोङछिङ मेडिकल विश्वविद्यालय,(Chongqing Medical University) चीनबाट DM (Cardiology) तथा संयुक्त राज्य अमेरिकाको University of Alabama बाट Echocardiography मा Fellowship प्राप्त गर्नुभएको छ।

उहाँले सन् २००९ देखि त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध जानकी मेडिकल कलेज, जनकपुर मा अध्यापन, विशेषज्ञ स्वास्थ्य सेवा, अनुसन्धान तथा शैक्षिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ। उहाँ आन्तरिक चिकित्सा (Internal Medicine) का प्राध्यापक, स्नातकोत्तर (MD/MS) कार्यक्रमका Postgraduate Coordinator तथा जानकी मेडिकल कलेज शिक्षण अस्पतालका पूर्व Hospital Director हुनुहुन्छ।

उहाँले १७ वर्षअघि जनकपुर तथा सम्पूर्ण मधेश प्रदेशमा पहिलो पूर्णकालीन कार्डियोलोजी (हृदयरोग) सेवा स्थापना गरी प्रदेशका हजारौं बिरामीलाई आफ्नै क्षेत्रमा विशेषज्ञ मुटुरोग उपचार उपलब्ध गराउने ऐतिहासिक सुरुवात गर्नुभएको थियो। यसअघि विशेषज्ञ मुटुरोग उपचारका लागि बिरामीहरूलाई काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो। उहाँको पहलले मधेश प्रदेशमा आधुनिक कार्डियोलोजी सेवाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ। उहाँले जानकी मेडिकल कलेज तथा मधेश प्रदेशमा MD/MS (स्नातकोत्तर चिकित्सा शिक्षा) कार्यक्रमको स्थापना, विस्तार तथा सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ।

उहाँको योगदानले प्रदेशमै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने वातावरण निर्माण भएको छ, जसले मधेश प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा दीर्घकालीन प्रभाव पारेको छ। उहाँले स्नातकोत्तर चिकित्सकहरूको शैक्षिक मार्गदर्शन, अनुसन्धान अभिमुखीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर नेतृत्व गर्दै आउनुभएको छ। उहाँ मधेश प्रदेश स्वास्थ्य कार्यदल (Health Task Force) का सदस्य, मधेश प्रदेश मेडिकल बोर्डका सदस्य तथा मधेश प्रदेश सभाका विशेषज्ञ चिकित्सक हुनुहुन्छ। साथै उहाँ जानकी मेडिकल कलेज जर्नलको सम्पादकीय मण्डल (Editorial Board) का सदस्य हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा एक दर्जनभन्दा बढी अनुसन्धान लेख प्रकाशित गर्नुभएको छ। उहाँका अनुसन्धानहरू विशेषगरी मुटुरोग, आन्तरिक चिकित्सा, चिकित्सा शिक्षा तथा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित रहेका छन्। उहाँलाई स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा राष्ट्रप्रतिको योगदानको कदर गर्दै नेपालका राष्ट्रपतिबाट ‘नेपाल शिक्षा भूषण (क)’ तथा ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरिएको छ। उहाँ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।

विद्यालय व्यवस्थापन समिति (School Management Committee) का सदस्य का रूपमा कार्य गर्दै उहाँले शिक्षा र स्वास्थ्यलाई ग्रामीण विकासको आधार मानी निरन्तर योगदान पुर्‍याउनुभएको छ। उहाँको नेतृत्व तथा सहभागितामा मधेश प्रदेशका ग्रामीण तथा दुर्गम क्षेत्रमा सयौँ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, जसबाट हजारौँ नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री, शैक्षिक सामग्री तथा आवश्यक सहयोग वितरण, विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग, स्वास्थ्य परीक्षण कार्यक्रम, स्वास्थ्य शिक्षा तथा जनचेतनामूलक अभियान सञ्चालन गरी ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँ नेपालमा Antimicrobial Resistance (AMR) विरुद्ध जनचेतना, अनुसन्धान तथा नीतिगत सुधारका क्षेत्रमा अग्रणी रूपमा सक्रिय हुनुहुन्छ। Kalkism Research & Training Center मार्फत विद्यालय, कलेज, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा समुदायमा AMR सम्बन्धी प्रशिक्षण, सचेतना तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ।

उहाँको उद्देश्य नेपालमा जिम्मेवार एन्टिबायोटिक प्रयोगको प्रवर्द्धन, प्रतिरोधी जीवाणुको नियन्त्रण तथा भावी पुस्ताका लागि सुरक्षित स्वास्थ्य प्रणाली निर्माण गर्नु हो। चिकित्सा सेवा, चिकित्सा शिक्षा, अनुसन्धान, संस्थागत नेतृत्व, सार्वजनिक स्वास्थ्य, सामाजिक सेवा तथा ग्रामीण समुदायको उत्थानमा उहाँले पुर्‍याएको बहुआयामिक योगदानले उहाँलाई नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा एक सम्मानित र प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ।