एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
स्थानीय तहमा वित्तीय कारोबार सञ्चालनका लागि प्रयोग हुँदै आएको सुत्र (SuTRA) प्रणाली अवरुद्ध भएपछि धनुषाका अधिकांश पालिकामा विकास निर्माणको भुक्तानी, कर्मचारीको तलब–भत्ता तथा अन्य अनिवार्य वित्तीय दायित्व प्रभावित भएका छन्।
लामो समयदेखि प्रणाली नियमित रूपमा सञ्चालन हुन नसक्दा निर्माण व्यवसायी, सेवा प्रदायक तथा कर्मचारीलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको स्थानीय तहका अधिकारीहरूले बताएका छन्। यसको प्रत्यक्ष असर विकास आयोजनाको कार्यान्वयन, सेवा प्रवाह तथा दैनिक वित्तीय कारोबारमा परेको उनीहरूको भनाइ छ।

स्थानीय तहका कर्मचारीका अनुसार प्रणाली अवरुद्ध हुँदा विकास आयोजनाको भुक्तानी रोकिएको छ भने कर्मचारीको तलब, भत्ता तथा अन्य नियमित भुक्तानीसमेत ढिलो हुने अवस्था सिर्जना भएको छ। यसका कारण निर्माण व्यवसायीले कामको गति सुस्त बनेको गुनासो गरेका छन् भने सेवाग्राही र अन्य सरोकारवालाबाट स्थानीय तहमा गुनासोसमेत बढ्दै गएको छ।
सुत्र प्रणालीमा आएको अवरोधका कारण कर्मचारीहरू अनावश्यक दबाबमा काम गर्न बाध्य भएको जनाइएको छ। कानुनले तोकेको समयभित्र भुक्तानी सम्पन्न हुने वातावरण बनाउन तथा स्थानीय तहको वित्तीय कारोबारलाई सहज बनाउन महालेखा नियन्त्रकको कार्यालयसँग प्रणाली यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन पालिकाहरूले आग्रह गरेका छन्।
यो समस्या धनुषाको जनकपुरधाम उपमहानगरपालिका सहित जिल्लाका अधिकांश स्थानीय तहमा देखिएको जनाइएको छ, जसका कारण विकास निर्माणका कामदेखि नियमित प्रशासनिक सेवा प्रवाहसम्म प्रभावित बनेको छ।