एसपी रिपोर्टर
जनकपुरधाम, असार २४ :
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रभित्र रहेका गुठी जग्गा, ऐतिहासिक पोखरी तथा धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
गुठी संस्थानका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमि प्रशासन कार्यालय, नापी कार्यालय तथा गुठी संस्थान शाखा कार्यालय धनुषाका प्रतिनिधिहरू सदस्य रहेका छन्।
मन्त्रालयका अनुसार समितिले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका रामजानकी मन्दिर, प्रमुख मठ/मन्दिर, ऐतिहासिक पोखरी, पोखरीका डिल तथा अन्य गुठी जग्गाको वर्तमान अवस्था अध्ययन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउनेछ। यसक्रममा विगतका उच्चस्तरीय कार्यदल, सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग तथा गुठी जग्गासम्बन्धी विभिन्न प्रतिवेदनका सुझावहरू कार्यान्वयन गरिने जनाइएको छ।
समितिको कार्ययोजनाअनुसार मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण पहिचान गरी सम्बन्धित पक्षलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न सूचना जारी गरिनेछ। अन्य गुठी जग्गामा घर–टहरा निर्माण गरी बसोबास गरिएकाहरूलाई १५ दिनभित्र अतिक्रमण हटाउन निर्देशन दिइनेछ।
निर्धारित अवधिभित्र अतिक्रमण नहटाइए स्थानीय प्रशासन र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा थप १५ दिनभित्र अतिक्रमण हटाइने मन्त्रालयले जनाएको छ। सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि समितिले आफ्नो प्रगति प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले समिति गठनसँगै बृहत्तर जनकपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका गुठी सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणको कार्य प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।





