एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै सिंहदरबारको प्रणाली सरकारमा रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्।
पूर्वसांसद धवल शमशेर राणासँगै जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा रहेको दाबी गरे। उनले त्यही कारण सिंहदरबारको समग्र प्रणाली बिग्रिएको आरोप पनि लगाए।
वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै प्रसाईंले आफूहरूले सरकारको कार्यसम्पादनको समीक्षा अझै नगरेको बताए। उनले छिट्टै सरकारको १०० दिने कार्यसम्पादनबारे समीक्षा गरी भिडियो सार्वजनिक गर्ने जानकारी दिए।
प्रसाईंले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत प्रभावित बनाइरहेको आरोप लगाए। नेपालमा विगतमा दलाई लामाको जन्मोत्सव नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएकाले नेपालले उक्त विषयलाई स्वीकार गरेको सन्देश गएको उनको दाबी थियो।
उनले सरकारको विदेश नीतिमाथि पनि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे।
नागरिक बचाउ महाअभियानअन्तर्गत प्रसाईं मंगलबार जनकपुरधाममा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै उनले जानकी मन्दिरमा पूजा–अर्चना गर्ने, नगरमा जुलुस निकाल्ने तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ।