एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ :
सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विक हत्या मुद्दामा उच्च अदालत जनकपुरबाट ५ वर्ष कैद सजाय सुनाइएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–२ निगौल निवासी कोइरीलाई बिहीबार साँझ गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय नजिकबाट पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले बुधबार कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।
उच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई शुक्रबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।





