एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले अशिक्षा, अन्धविश्वास र सामाजिक पछौटेपन अन्त्य नभएसम्म बोक्सी प्रथाजस्तो अमानवीय कुप्रथाको अन्त्य हुन नसक्ने बताएकी छन्।
‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानद्वारा मंगलबार जनकपुरधाममा आयोजित बोक्सी प्रथाविरुद्धको जनचेतनामूलक अभियानको उद्घाटन गर्दै उनले बोक्सीको आरोप लगाउने प्रवृत्ति अझै पनि अशिक्षा, अन्धविश्वास र सामाजिक रूपमा पछाडि पारिएका समुदायमा बढी देखिने गरेको बताइन्।
उनले कुनै पनि व्यक्ति जन्मजात बोक्सी नहुने स्पष्ट पार्दै अन्धविश्वास र सामाजिक विभेदका कारण विशेषगरी महिलामाथि बोक्सीको आरोप लगाएर हिंसा, अपमान र सामाजिक बहिष्कार गरिनु दुःखद र अस्वीकार्य भएको बताइन्।
उपसभामुख ठाकुरले समाजमा पछाडि पारिएका वर्ग र समुदाय स्वयं परिवर्तनका लागि अग्रसर हुनुपर्नेमा जोड दिँदै बाह्य प्रयास मात्र पर्याप्त नहुने धारणा राखिन्। शिक्षा सामाजिक रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएकाले महिला, दलित, विपन्न तथा सीमान्तकृत समुदायलाई शिक्षित र सचेत बनाउन सरकार, स्थानीय तह, सामाजिक संघसंस्था तथा नागरिक समाजबीच समन्वित अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन्।
संविधानले प्रत्येक नागरिकलाई समानता, सम्मान र सुरक्षित जीवन बाँच्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले बोक्सीको आरोप लगाएर कुनै पनि व्यक्तिमाथि गरिने हिंसा, यातना वा सामाजिक बहिष्कार कानुनअनुसार दण्डनीय अपराध भएको स्पष्ट पारिन्।
कार्यक्रमका वक्ताहरूले बोक्सी प्रथालाई मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै गाउँ–गाउँसम्म जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूले अन्धविश्वास अन्त्य, शिक्षा विस्तार, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणलाई अभियानको प्रमुख आधार बनाउनुपर्ने धारणा राखे।
अभियानका क्रममा बोक्सीको आरोपमा प्रताडित भई हिंसा तथा सामाजिक विभेद भोगेका महिलाहरूलाई सम्मानसमेत गरिएको थियो।





