एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
जितेन्द्र कुमार महतो धनुषा जनकपुरका ती युवा हुन् जो गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका कमान्डर (उपसंयोजक) को रूपमा जिम्मेवारी बहन गरे । कम उमेरका कारण गत आम निर्वाचनमा उम्मेदवारको रूपमा चर्चामा आउन नसके पनि जितेन्द्र आन्दोलनका मुख्य कर्ताधर्ताका रूपमा मात्र नभई त्यसपछि बनेको अन्तरिम सरकारलाई जेन्जीका मुद्दातर्फ सचेत गराउने र समय–समयमा घचघचाउने मुख्य पात्रको रूपमा सक्रिय रहे ।

अहिले उनी चितवनमा हुन लागेको रास्वपाको केन्द्रीय महाधिवेशनमा मधेशबाट भूगोलतर्फ केन्द्रीय सदस्य पदको उम्मेदवारको रूपमा अगाडि आएपछि पार्टीभित्र जेन्जी लिगेसी जुडेका सम्पूर्ण युवा नेता तथा कार्यकर्ताको ध्यानमा पर्दै जितेन्द्र उत्साहित बनेका छन् । जेन्जी आन्दोलनमा उनको सक्रिय सहभागिता र योगदानलाई मान्ने हो भने भूगोलतर्फ केन्द्रीय सदस्यमा उनको प्रतिस्पर्धी नै नहुनुपर्ने रास्वपाभित्रका जेन्जी युवाहरूको तर्क छ ।

जनकपुरधाम स्थित राराब क्याम्पसमा एमबिएसमा अध्ययनरत उनी जेन्जी आन्दोलनको अगुवाई गर्न काठमाडौँ गएर सक्रिय भए र उपसंयोजकको रूपमा जिम्मेवारी सम्हाले; संयोजक थिए हालका गृहमन्त्री सुदन गुरुङ र उनीहरूको ब्यानर थियो ‘द काउन्सिल अफ जेन्जी’।

धनुषा क्षेत्र नम्बर १ दिगम्बरपुरका महतो चितवनमा हुन गइरहेको रास्वपा केन्द्रीय महाधिवेशनमा होमिएका छन् । उनी काठमाण्डौं सहित देशै भरि जेनजी युवा माझ लोकप्रिय अनुहार हुन ।