एसपी रिपोर्टर
जनकपुरधाम, असार ४ :
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार स्थापना भएको करिब नौ वर्ष बित्न लाग्दासमेत संघ सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिई ‘खेलौना’ दिएर खुशी पार्ने प्रयास मात्र गरेको आरोप लगाएका छन्।
मधेस प्रदेशस्तरीय सडक सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रदेशसँग प्रशासनिक अधिकार तथा आफ्नै प्रहरी संयन्त्र नहुँदा प्रदेशका जनतामाथि अझै पनि संघ सरकारकै शासन कायम रहेको बताए।
उनले प्रदेश सरकारले यसपटकको बजेटमार्फत आफ्नो संवैधानिक अधिकार प्राप्तिका लागि संघर्षको तयारी गरेको स्पष्ट पार्दै २०७६ सालदेखि कार्यान्वयन हुन नसकेको प्रदेश प्रहरी ऐन लागू गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।
मुख्यमन्त्री यादवले मधेस प्रदेशसँग पर्याप्त प्राकृतिक स्रोत–साधन नरहेकाले धार्मिक पर्यटन नै प्रदेशको प्रमुख आर्थिक आधार भएको उल्लेख गरे। तर, संघ सरकारले पर्यटन प्रवर्द्धनमा आवश्यक सहयोग नगरेको र विभिन्न नीतिगत अवरोध सिर्जना गरिरहेको आरोप लगाए।
उनका अनुसार मधेसमा आउने अधिकांश पर्यटक भारतबाट आउने भए पनि भारतीय पर्यटकलाई असहज हुने खालका नीति लागू गरिएकाले पर्यटन क्षेत्र प्रभावित भएको छ।
कार्यक्रममा श्रम तथा यातायात मन्त्री शारदा थापाले सडक सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताइन्। विद्यालयका विद्यार्थी तथा महिला समूहसम्म पुगेर ट्राफिक नियमसम्बन्धी जानकारी गराउन सके सडक सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले सडक सुरक्षा सुधारका लागि सरकारी निकाय, सुरक्षा निकाय तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।