एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ :
बालिका अपहरण तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा एमाले नेता शिवशंकर साह हिरासहित आरोपित सबै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत धनुषाले पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै हिरासहित ६ जनालाई आरोपबाट सफाइ दिएको हो।
उक्त घटनापछि शिवशंकर साह हिरा, अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झाविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरिएको थियो। साथै हिरा, ठाकुर र महासेठमाथि अपहरणसम्बन्धी आरोप समेत लगाइएको थियो।
अदालतले प्रस्तुत प्रमाण तथा तथ्यहरूको मूल्यांकनपछि अभियुक्तहरूविरुद्ध लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सबैलाई सफाइ दिएको जनाएको छ।
शिवशंकर साह हिरा नेकपा (एमाले) का नेता हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार रहेका थिए भने एमालेका महाधिवेशन प्रतिनिधिसमेत हुन्।