एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ :
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा आएर फेरि अन्योलमा परेको छ । सत्ता गठबन्धनभित्र सहमति जुट्न नसक्दा नेकपा एमालेका मन्त्रीहरूको शपथ अन्तिम समयमा स्थगित गरिएको हो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव ले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको थियो । एमालेबाट सारदा थापा, मनोज सिंह र लखन दासलाई मन्त्रीको शपथ गराउने तयारी गरिएको थियो ।
शपथका लागि प्रस्तावित मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिसकेका थिए भने प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारीसमेत पूरा गरिएको थियो । सभामुख रामआशिष यादव र उपसभामुख बबिता राउत इश्वर समेत कार्यक्रमस्थल पुगिसकेका थिए ।
तर, अन्तिम समयमा गठबन्धनभित्र विवाद चर्किएपछि साँझ ५ बजेका लागि तय गरिएको शपथ कार्यक्रम स्थगित गरिएको हो । शपथ रोकिएपछि मन्त्री बन्ने तयारीमा रहेका नेताहरू निराश हुँदै फर्किएका छन् ।
यसअघि एमालेका तर्फबाट मोहम्मद समिर ले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिइसक्नुभएको छ ।
सुरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहित नयाँ गठबन्धन सरकार विस्तार गर्ने सहमति भएको थियो । तर मन्त्रालय भागबण्डा र मन्त्री चयनको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा नेकपा सरकारमा सहभागी हुन तयार नभएको स्रोतले जनाएको छ ।
पछिल्लो समय सत्तागठबन्धनभित्रका नेताहरूबीच आरोप–प्रत्यारोपसमेत बढ्दै गएको छ । त्यसका कारण मधेश सरकार विस्तार प्रक्रिया झन् जटिल बनेको राजनीतिक वृत्तमा चर्चा छ ।