एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ :
जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति धनुषाको आयोजनामा सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डीलगायतका खेल समावेश छन् । एथलेटिक्स अन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर तथा ३००० मिटर दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, रिले दौड र जेभलिन थ्रोका प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा जिल्लाका पाँच पालिकाका पाँच सयभन्दा बढी खेलाडी सहभागी भएका छन् । हँसपुर नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका र जनकनन्दनी गाउँपालिकाका खेलाडीहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुशकुमार यादवले युवाहरू कुलतमा फसिरहेका बेला खेलकुदले अनुशासन र सकारात्मक सोचको विकास गर्ने भएकाले यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनले खेलकुद गतिविधि वर्षमा एक पटक मात्र नभई निरन्तर सञ्चालन हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि पालिका तहबाटै पहल आवश्यक रहेकोमा जोड दिए ।
उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख अरविन्द यादव, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्णलगायतको उपस्थिति रहेको थियो ।






