एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ :
नेपाली कांग्रेस धनुषा–४ को क्षेत्रीय समितिले मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोलाई कारबाहीका लागि सिफारिश गरेपछि जिल्ला पार्टीभित्र विवाद चुलिएको छ।
नगरप्रमुख महतोले आफूमाथि लगाइएका सबै आरोप कपोलकल्पित र निराधार रहेको दाबी गरेका छन्। उनले कारबाहीका लागि गरिएको सिफारिश प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएपछि लक्षित गरिएको बताए।
गत आम निर्वाचनपछि आफूलाई जोडेर विभिन्न आरोप लगाइएको भन्दै उनले त्यसप्रति आपत्ति जनाए। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई सहयोग गरेको तथा सो पार्टीको सदस्यता लिएको भन्ने आरोपलाई उनले पूर्ण रूपमा अस्वीकार गरेका छन्। “यदि कसैले म रास्वपाको सदस्य भएको दाबी गर्छ भने प्रमाण सार्वजनिक गर्नुपर्छ,” उनले चुनौती दिए।
महतोले कारबाही सिफारिश अघि स्पष्टीकरण सोध्ने वा आफ्ना धारणा राख्ने अवसर नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार प्रक्रिया मिचेर गरिएको निर्णयले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठाएको छ।
यसैबीच, नेपाली कांग्रेस धनुषा–४ को कार्यसमिति बैठकले शुक्रबार नगरप्रमुख महतोसहित बटेश्वर गाउँपालिका–३ का वडा सभापति राममणि महतो र मिथिला नगरपालिका–२ का वडा सभापति अशेश्वर महतोलाई पनि कारबाहीका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
बैठकले नगरप्रमुख महतोलाई ६ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिश गरेको जनाएको छ।