एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ :
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले कार्यकालको पहिलो १०० दिनमा ‘५१ महत्वपूर्ण उपलब्धि’ हासिल गरेको दाबी गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रतिकूल परिस्थिति, राजनीतिक संक्रमण तथा प्रशासनिक अव्यवस्थाबीच पनि सरकार उपलब्धिमूलक ढंगले अघि बढेको बताएका हुन्।
मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दा कार्यकक्षसमेत व्यवस्थित नरहेको, ‘जेनजी’ आन्दोलनका कारण संरचनामा क्षति पुगेको र मन्त्रिपरिषद् अपूर्ण रहेको अवस्थामा काम सुरु गर्नुपरेको उल्लेख गरे। उनले गृह मन्त्रालयको एक कोठाबाटै कार्य सञ्चालन गर्नुपरेको स्मरण गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिकले महसुस गर्ने काम गरिएको दाबी गरे।
स्वास्थ्य क्षेत्रलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले जनकपुर प्रादेशिक अस्पताल मा सेवा प्रवाह सुधार गरिएको जानकारी दिए। अस्पतालमा अनलाइन टिकट, बैंकिङ भुक्तानी तथा डिजिटल रिपोर्ट प्रणाली लागू गरिएको छ भने बन्द रहेको क्याथ ल्याब पुनः सञ्चालनमा ल्याइएको उनले बताए। साथै, ४० शैय्याको डायलाइसिस सेन्टर निर्माण अन्तिम चरणमा पुगेको र १० शैय्याको आईसीयूलाई २० शैय्यामा विस्तार गर्ने तयारी पूरा भएको जनाइएको छ।
शिक्षा क्षेत्रअन्तर्गत ‘प्रत्येक निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। पहिलो चरणमा १५ विद्यालयमा काम सुरु भइसकेको छ भने प्रति विद्यालय न्यूनतम ५० लाख रुपैयाँ लगानी भइरहेको मुख्यमन्त्रीले बताए।
कृषि क्षेत्रमा रोपाइँअघि नै मल व्यवस्थापन, स्यालो ट्युबवेल विस्तार तथा भूमिगत सिँचाइका लागि अध्ययन प्रक्रिया अगाडि बढाइएको छ। त्यसैगरी, जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल पनि सुरु गरिएको छ।
पूर्वाधार विकासतर्फ ‘एक निर्वाचन क्षेत्र एक सडक’ र ‘एक निर्वाचन क्षेत्र एक पुल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। डीपीआर र निर्माण कार्य एउटै निकायबाट गराउने नीति लागू गरिएको जानकारी दिइयो। साथै, रामजानकी रंगशाला का लागि बजेट व्यवस्थापन र जग्गा प्रक्रिया अघि बढाइएको छ।
सामाजिक सुरक्षाअन्तर्गत दुर्घटना बीमा, कम्बल वितरण तथा दमकल व्यवस्थापनका कार्यक्रम लागू गरिएको जनाइएको छ। यातायात क्षेत्रमा सवारी दर्ता डिजिटल बनाउने, लाइसेन्स प्रणाली सुधार गर्ने तथा अटोमेटिक ट्रायल प्रणाली लागू गर्ने तयारी भइरहेको मुख्यमन्त्रीले जानकारी दिए।
मुख्यमन्त्री यादवले पहिलो १०० दिनलाई ‘नागरिक अपेक्षाको परीक्षा’का रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघीय समन्वयको अभाव, सीमित बजेट तथा संरचनात्मक कमजोरी अझै चुनौतीका रूपमा रहेको स्वीकार गरे।
यद्यपि, सार्वजनिक गरिएका उपलब्धिहरूको दीर्घकालीन प्रभाव र कार्यान्वयनको प्रभावकारिता आगामी दिनमा परीक्षण हुने देखिन्छ।





